कोरोनाको पहिलो लहरमा भएका यी ५ गल्ती फेरि नदोहोर्‍याऔं

डा भगवान कोइराला

भाइरस सर्दै जाँदा स्वरुप फेर्दै जान्छ र म्युटेसन पनि हुँदै जाने सर्वव्यापी मान्यता छ। अहिलेको लहरमा आएको भाइरस म्युटेसन र भेरियान्ससहित आएको भनिएको छ। यसको प्रकृति फरक छ, सर्ने क्षमता पनि बढेको छ र संक्रमण कडा बनाउने चरित्र पनि रहेको बताइएको छ। यो लहर आउनुमा सरकार वा नागरिकको दोष होइन, किनभने यो भाइरसको चरित्र हो। तर यसलाई फैलाउनुमा हामी दोषी छौं।  

विगतको लहरमा हाम्रो देश अलि तातेको हो। चाँडै लकडाउन गर्‍यो। त्यसका पीडा पनि नागरिकले भोगे। तर, अघिल्लो वर्ष ठिकै नियन्त्रण गरेको मान्नुपर्छ। सवै समस्याका बाबजुद पनि तीन हजार कमको क्षतिमा उम्कियौं। त्यो पनि दुखद हो तर तुलनात्मक रुपमा कम क्षति बेहोरियो भन्न सकिन्छ। हाम्रोजस्ता  स्रोतसाधनको कमी भएका, उपचार क्षमता कम भएको, क्वारेन्टिनको सुविधा प्रशस्त नभएको ठाउँमा र शिक्षाको स्तर राम्रोे नभएको देशका लागि त्यो तथ्यांक सन्तोषजनक नै हो। 

१. स्रोतको सदुपयोग भएन
यसपटकको लहर पहिलेका भन्दा खराब छ। अघिल्लो वर्षको अनुभवबाट जुन तयारी देशले गरेको थियो, त्यहाँ चाहिँ चुक्यौं । होश गरिएन । खुल्नेबित्तिकै आफ्नै तरिकाले हिँड्यौं । आफ्नै तरिकारले खान पाइयो, बस्न पाइयो भनेर त्यतैतिर लाग्यौं । कहीँ न कहीँ देशको नेतृत्व पनि समस्यामा अल्झियो। संघको मात्रै होइन, प्रदेश र स्थानीय सरकारले पनि जुन कुराका लागि स्रोत प्राप्त गरेका थिए, त्यसको पूर्ण सदुपयोग गर्नेमा दत्तचित्त भएर लागेको देखिएन। 

हामीले गम्भीर भएर ती स्रोतसाधनको सदुपयोग गर्नुपथ्र्यो । त्यसो गरेको भए पोहोर सुरु गरेका संरचना यसपल्टको लहरका लागि काम लाग्थे। त्यसो भएन। हामी ढिला भयौं। उदाहरणका लागि संक्रामक रोग अस्पताल सवै प्रदेशमा बनाउने भनिएकै थियो। क्वारिन्टन बनाउन बजेट छुट्याएकै थियो। आइसियु बनाउने कुरा पनि प्राथमिकतामा परेकै हो।  एचडियु बनाउने कुरा पनि भएकै हो। त्यसका लागि बजेट पनि दिएकै हो। केही मात्रा थपियो पनि तर जति मात्रामा थप्ने कुरा थियो, त्यति थपिएन। हामीले योजना बनाए अनुरुप काम भएको भए यो लहरमा धेरै चिन्तित हुनुपर्दैनथ्यो। 

आइसियु, एचडियु, अस्पताल केही महिनामै तयार नहोलान्। तर, त्यतातिर लागिहाल्नुपर्छ। पोहोर बनाएको भए यसपल्ट काम लाग्थे। यसपल्ट बनाउँ, अर्कोपल्ट काम लाग्छन्। आज कोरोना छ, भोलिपर्सी फेरि अर्को केही आउला। हामीले गल्ती दोहोर्‍याउनुहुन्न। संरचना बनाइराखेमा स्वास्थ्य सेवा सुदृढ गर्न भएपनि काम लाग्छन्। 

२. समस्यालाई व्यक्तिगत रुपमा लियौं 
हामी नागरिकले स्वास्थ्यका सर्वमान्य मापदन्डहरु पालना गरेनौं । मेरै जिन्दगी त हो भनेर रोगलाई व्यक्तिगत भन्ठान्यौं । तर, महामारीका बेलामा यस्ता रोगहरु व्यक्तिगत नरहने रहेछन्। यी त सामाजिक समस्या हुन्। मैले मास्क लगाउँदा मलाई होइन, अरुलाई क्षति हुन्छ। अरुले नलगाउँदा मलाई क्षति हुन्छ। अन्तरआश्रित रोग हो यो। यो महशुस गर्न समुदाय चुक्यो। अझैपनि हामी होसमा आयौं, संयमित भयौं, अनुशासित भइयो र एक डेढमहिना सहन सकियो भने क्षति कम हुन सक्छ। 

कोरोनाको यो दोस्रो लहर खतरनाक छ, यो सत्य हो। तपाईं हाम्रै परिवारको कसैलाई आक्रान्त पार्न सक्छ, कसैको ज्यान जान सक्छ। कोरोना आफैंले नखोजीकन उडेर घरभित्र आएर आक्रान्त पार्दैन। त्यसैले सचेत हुनपर्छ,। पछि पछुताउनुको कुनै अर्थ छैन। आज सजिलै बच्न सकिने रोगबाट तपाईं हाम्रै परिवारको कोही मर्न भनेको हाम्रै भुल मात्र नभनौं। 

३. भ्याक्सिनमा थप पहल हुनसक्थ्यो
भ्याक्सिनको कुरा जुन छ, त्यो हाम्रो देशको हातमा छैन। सरकारले पहल गरिरहेकै छ। त्यसका लागि रोइकराइ गर्ने हो हामीले, गरिएकै छ। इच्छुक सवै स्वास्थ्यकर्मीले दुई डोज पाइसकेका छन्। यस हिसाबले राम्रै गरेको मान्नुपर्छ । त्यसमा फेरि पनि विवाद गर्न सकिन्छ। राम्रो पहल गरेको भए यो भन्दा धेरै ल्याउन सकिन्थ्यो होला। 

४. राजनीतिक वखेडामा अल्झियौं
राजनीतिज्ञमाथि कुरा नकाटौं भन्ने लागेको थियो। यस्तो महामारीका बेलामा वखेडा जहाँबाट सुरु भएपनि त्यसलाई त्यही तहमा रहेर डिल गर्न सकिन्थ्यो। राजनीतिक बखेडाबाजीलाई यसरी उछालेर अरु तपसिलमा राख्नुपर्ने समय थिएन। सवैका आ–आफ्ना रिसिइबी होलान्, असमझदारी होलान्। ती केही समय थाँती राखेर सवै एक ठाउँमा आउनुपर्छ। सत्तापक्ष, प्रतिपक्ष, समाज, जनता, ब्युरोक्रेसी एक ठाउँमा बसेर कोभिड विरुद्ध लाग्नुपर्नेमा विखण्डित भएकै हो। यसमा दुःख लागेको छ। यसले हामीले दुःख दिएको छ। मेरो आग्रह छ, राजनीतिज्ञज्युहरु आफ्ना कुरा अलिअलि मिलाउनुहोस् तर ध्यान यतै केन्द्रीत गर्नुहोस् । हाम्रो ब्युरोक्रेसी, प्रदेश सरकार र स्थानीय सरकार पनि यतैतिर लाग्यो भने क्षति हामीले नै बेहोर्ने हो। कोरोनका का।ण ज्यान गुमाउने आंकडामा हाम्रै कोही पर्ने हो। राजनीतिक घटना रोक्न सकिने घटना हुन्। ती रोक्न सकिएन भने व्यर्थ हुनेछन्। 

५. ननकोभिडका लागि उचित बन्दोबस्त भएन
ननकोभिड बिरामीको पनि उत्तिकै चाप छ। उत्तिकै सिकिस्त हुन्छन्। हामीले अघिल्लो समय राम्रोसँग सन्देश प्रवाह गर्न जानेनौं। क्राइसिस म्यानेजमेन्टको अर्को पाटो क्राइसिस कम्युनिकेसन पनि हो । सन्देश ठिकसँग प्रेसित गर्न सकिएन। घरमै बस्नुहोस् भन्दा हटअट्याकका बिरामी पनि घरमै बसे। कतिको ज्यान गयो। त्यो यहाँ मात्रै होइन, विश्वका अन्य देशमा पनि यस्तै भयो। 

हामीले विस्तारमा बुझाएर भन्न जान्नुपर्छ । सिकिस्त बिरामी अस्पताल आउनैपर्‍यो। आकस्मिक सेवा चल्नैपर्‍यो, समयमा उपचार हुनैपर्यो । खोप कार्यक्रम चल्नैपर्‍यो। एक दुईमहिना सार्न मिल्नेलाई थाँती राखेर जरुरीलाई निर्वाध चल्ने व्यवस्था गर्नुपर्छ। पोहर ननकोभिडका बिरामीले दुःख पाए। यसपालि त्यस्तो गर्ने होइन। आज तत्काल गर्नुपर्ने व्यवस्थापन पनि यही हो । मन्त्रालयको पहलमा अस्पताहरुको सक्रियतामा हामीले धेरै बेडलाई अत्यावश्यक सेवा बाहेक कोभिडको प्रयोजनका लागि बनाउनुपर्छ । नत्र हाम्रो स्वास्थ्य प्रणालीले धान्दैन। अहिले नै कोरोनाका लागि छुट्याइएका बेड भरिसके।  थप बढ्दै जाँदा समस्या बढ्ने कुरा स्वभाविक हुन्छ। स्रोत – स्वास्थ्य खवर


प्रकाशित | १६ बैशाख २०७८, बिहीबार १५:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!