एनआरएनए महाधिवेशन: उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशन भोलिदेखि हुने भएको छ ।  महाधिवेशन उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने तय भएको जनाइएको छ ।

संघका अध्यक्ष कुमार पन्तले शनिवार देखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागि हुने बताउनु भयो ।  अध्यक्ष पन्तले एकताको महाधिवेशन भएकाले सबैलाई सहभागि हुन र कार्यक्रमलाई सफल बनाउन आह्रवान गर्नु भयो । 

संघको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महाधिवेशन र विश्व सम्मेलन अगाडि बढाइएको हो ।  सम्मेलनमा संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

दुई दिन सम्म चल्ले महाधिवेशनले विधान संसोधन गर्ने तयारी समेत गरेको छ । यसअघि अध्यक्षका उम्मेदवारहरु डा. बद्री केसी, कुल आचार्य र रविना थापाबीच आलोपालो नेतृत्व गर्ने सहमति भएबमोजीम बहुअध्यक्षीय प्रणालीको ब्यवस्था विधानमा गर्नुपर्ने हुन्छ । महाधिवेशनले सहमति बमोजीम विधान संशोधन गरि आवश्यक पद थप्ने तयारी भइरहेको आयोजक समितिले जनाएको छ ।

एनआरएनएनमा डा. शेष घले पक्षले भने बुधबारै छुट्टै महाधिवेशन र विश्व सम्मेलन गरि नयाँ कार्यसमिति घोषणा गरिसकेकाले संस्थापन पक्षको निर्वाचन सम्पन्न भएसँगै कसले आधिकारिता पाउँने भन्ने विषयमा कानुनी लडाई हुने देखिएको छ ।


प्रकाशित | ११ चैत्र २०७८, शुक्रबार २०:४०