विरोधीहरूको मानसिक सन्तुलन गुमेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरु आत्तिन थालेको बताउनुभएको छ । शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) को काठमाडौं जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीले ६ महिनाको छोटो अवधिमा बढेको आकर्षणका कारण विरोधीहरुले मानसिक सन्तुलन गुमाएर कुप्रचार गर्न थालेको बताउनुभएको हो ।

‘हाम्रो पार्टीप्रति बढेको आकर्षण देखेर विरोधीहरु आत्तिएका छन्, मानसिक सन्तुलन गमाउन पुगेका छन्, आत्तिएर मन्त्री प्रेम आले र किसनकुमार श्रेष्ठ बालकोट पुगेको भनेर प्रचार गरे । हुँदै नभएको कुरामा हल्ला मच्चाउने गरेका छन् ती कुनै प्रचारमा सत्यता छैनन्’, अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले सुरुदेखि केपी ओलीसँग आफ्नो लडाई रहने भनेको प्रसंग कोट्याउँदै राष्ट्रियसभा निर्वाचनमा ओलीलाई धुलो चटाइदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओलीका उम्मेदवारले धुलो चाटे, हाम्रो उम्मेदवार विजयको शिखरमा पुगे, कलम चिन्हलाई जिताएर इतिहास निर्माण गरे । त्यसो भएकाले बरु सूर्यमा ग्रहण लाग्छ कलममा लाग्दैन । कलमले नै सत्य कुरा ओकल्छ र चेतनाको प्रतीक हुने गर्छ’, नेपालको भनाइ छ । उहाँले आफुबाट छुट्टिएर गएकाहरूको एमालेमा बेहाल भएको देखिन थालेको पनि बताउनुभयो ।


प्रकाशित | ११ चैत्र २०७८, शुक्रबार १४:०१