घले पक्षद्धारा कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन, आधिकारिकता पाउँने दावी

काठमाडौं – गैर आवासीय नेपाली संघमा लामो समयदेखि उत्पन्न विवादका बीच डा. शेष घले पक्षधरले विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । मंगलबारदेखि शुरु घले पक्षधरको काठमाडौंमा आयोजित छुट्टै भेलाले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । शुरु देखि नै घले पक्षको नेतृत्व गर्दै आइरहेका कुल आचार्यले आलोपालो नेतृत्वमा सहमति गरेपछि समानान्तर अधिवेशन रोकिने अपेक्षा गरिए पनि अन्तत: छुट्टै कार्यसमिति गठन भएको हो ।

अन्तिम समयमा आएर निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिए पनि बाँकि सदस्यलाई जिम्मेवारी दिएर घले पक्षले निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो । निर्वाचन समितिका प्रमुख आयुक्त विश्वनाथ बराल सहित निर्वाचन अधिकृत बासुदेव फुलारा, विमल सुवेदी र पुष्प थापाले राजीनामा दिनु भएको थियो ।

निर्वाचन समितिमा रहनु भएका बरालसहित चारै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै प्रमुख संरक्षक घलेले एनसीसीका अध्यक्षहरुले दिएको म्याण्डेट विपरीत संस्थालाई विभाजित र विखण्डन गर्ने उद्देश्यले निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै प्रमुख संरक्षकलाई त्यतिबेला दिइएको म्यान्डेट सबै एनसीसीले फिर्ता लिएको जानकारी गराएपछि राजीनामा दिएको जनाउनु भएको थियो ।

प्रमुख निर्वाचन अधिकृतसहितले राजीनामा दिएपछि निर्वाचन प्रक्रियालाई अगाडि बढाएको घले पक्षधरले बाँकि रहेकामध्येबाट प्रकाश धमलालाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गर्दै नयाँ एक अधिकृतमा एलबी गुरुङलाई थपेर निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो । घले पक्षधरले बुधबार साँझ ५ बजेसम्म संस्थापन पक्षलाई सहमतिमा आउँन अल्टिमेटम दिदैं बिहानैबाट निर्वाचन सम्बन्धी सबै काम तयारी अवस्थामा राखेको थियो ।

बुधबार दिउँसो विभिन्न चरणमा संस्थापन तर्फबाट अध्यक्ष कुमार पन्त, कोषाध्यक्ष महेश श्रेष्ठ र घले पक्षका सोनाम लामा र मन केसीबीच धेरै पटक वार्ता भएको थियो । घले पक्षले संस्थामा तीन जना अध्यक्ष हुन नहुने र निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चुनीनुपर्ने प्रस्ताव राखेको थियो । तर यसअघि नै आलोपालो नेतृत्व गर्ने विषयमा डा. बद्री केसी, कुल आचार्य र रविना थापाबीच सहमति भएको भन्दै पदीय बाँडफाँडमा अन्तिम प्रयास गरिएपनि वार्ता सफल हुन सकेन् । त्यसपछि अन्तिममा केहि नलागेपछि अध्यक्षका उम्मेदवारहरु डा. बद्री केसी र रविना थापा स्वयं कार्यक्रम स्थल याक एण्ड यतिमा पुगेर सहमतिको लागि प्रयास गर्नु भएको थियो । तर पनि सफल हुन सकेन ।

उता आयोजक समितिका संयोजक सोनाम लामाले वार्ताको लागि पर्खनुपर्ने अडान राखे पनि डा. घले र जमुना गुरुङले भने अब कुनै पनि हालतमा पर्खन नसक्ने भन्दै निर्वाचन प्रक्रिया अगाडि बढाउनु भएको थियो । घले पक्षधरबाट लामा र त्रिलोक गुरुङलाई नेतृत्वको लागि प्रस्ताव गरिएको थियो । तर लामाले आफु पदका लागि नभई संस्था विधि, विधान र नियमअनुसार चल्नुपर्छ भन्ने उद्देश्यले आवाज उठाएको र पदमा नबस्ने बताउनु भएको थियो । उता त्रिलोक गुरुङ भने वार्ता असफल भएपछि त्यसअघि नै कार्यक्रमस्थल छाडेर गइसक्नु भएको थियो । लामा र गुरुङ दुवैको अरुची देखिएपछि घलेले एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजक पदमा दावी गर्दै आउनु भएको विनोद कुँवरलाई नेतृत्वका लागि अगाडि बढ्न प्रस्ताव गर्नु भयो । तर कुँवरले घलेको प्रस्तावमा केहि समय घोत्लीनुभयो ।  घलेले संस्थामा अवसरवादी र स्वार्थी मान्छे होइन, तपाई जस्ता इमानदार र नेतृत्व क्षमता भएका ब्यक्तिको खाँचो छ भनेपछि कुँवर नेतृत्व गर्न राजी हुनु भयो र विभिन्न पदका आंकाक्षीहरुको नामावली बनाइयो । त्यसपछि केन्द्रीय पदाधिकारी र केहि क्षेत्रका पदमा मोटामोटी उम्मेदवारी पुगेपछि उम्मेदवारी दर्ता प्रक्रिया शुरु गरिएको थियो ।

कार्यक्रमको पहिलो दिन कुल आचार्य पक्षधरका काठमाडौंमा सहभागि अधिकांश एनसिसी अध्यक्षहरु सहभागि थिए । उनीहरु दोस्रो दिनको साँझ सम्म कार्यक्रम स्थलमै थिए । तर निर्वाचन प्रक्रिया अगाडि बढाउँदै मतदाताको नामावली प्रकाशन गरिएपछि एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर र एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङबाहेक अन्य एनसिसी अध्यक्षहरुले मैदान छाड्नु भएको थियो ।

निर्वाचन कमिटिले बिहीबार बिहान करिव पौने तीन बजे कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध भएको घोषणा गरेको थियो । कार्यसमिति उपाध्यक्षमा उमेश पुडासैनी (कुवेत), थर्क सेन (बेलायत), बाबु राम लामा (बिआर, अमेरिका), (सुरेन्द्र सिग्देल (अष्ट्रेलिया), महिला उपाध्यक्षमा (भोमा लिम्बु (अष्ट्रेलिया), महासचिवमा जानकी गुरुङ (बेल्जियम), सचिवमा जुनु गुरुङ (कोरिया), कोषाध्यक्षमा डिला राम खरेल (अष्ट्रेलिया), ओसेनिया क्षेत्रीय संयोजकमा केशब कँडेल (अष्ट्रेलिया), अमेरिकाज क्षेत्रीय संयोजकमा कृष्ण पोख्रेल (अमेरिका) र युरोप क्षेत्रीय संयोजकमा उल्का घिमिरे (बेल्जियम) मात्र उम्मेदवारी परेको भन्दै ११ जना निर्विरोध भएको घोषणा गरिएको थियो ।

नवनिर्वाचीत कार्यसमितिलाई निर्वाचन समितिले लगत्तै सपथ ग्रहण गराएको थियो । कार्यक्रममको समापनमा डा. घलेले सत्यको जित भएको र को सही को गलत भन्ने कुरा समयले देखाएको भन्दै नवनिर्वाचीत कार्यसमितिलाई बधाई दिनु भएको थियो भने आयोजक समितिका संयोजक लामाले संस्था विधि-विधान अनुसार चल्नुपर्ने र संस्था दुईवटा हुनै नसक्ने बताउँदै अझै पनि सहमतिको आधारमा अगाडि बढ्न ढोका खुला रहेको बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कुँवरले अत्यन्तै कठिन र विषय परिस्थितिमा आफुले नेतृत्वको जिम्मेवारी समालेको बताउँदै निष्ठा र न्यायको जीत हुने बताउनु भएको थियो भने नवनिर्वाचित महासचिव गुरुङले आफुहरुले आधिकारिकता  पाउँने भन्दै ढुक्क भएर अगाडि बढ्न आग्रह गर्नु भएको थियो ।

घले पक्षधरको कार्यक्रममा एनआरएनए सल्लाहकार जमुना गुरुङ, एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङ, एनआरएनए  युकेका पुर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगर, एनआरएनए युकेका प्रमुख संरक्षक शेर सुनार, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनआरएनए आइसिसी पुर्व प्रवक्ता रञ्जु बाग्ले थापा, एनआरएनए बहराईनका पुर्व अध्यक्ष श्याम तामाङ, एनआरएनए कोरियाकी पुर्व अध्यक्ष लक्ष्मी गुरुङलगायत सहभागि हुनुहुन्थ्यो भने कार्यक्रममा घलेलाई सहयोग गर्दै आइरहेका कानुन ब्यवसायीको पनि सहभागिता थियो । उनीहरुले घलेलाई निर्वाचन प्रक्रिया अगाडि बढाउँदा आधिकारिकता  पाउँने सुझाव दिएका थिए ।


प्रकाशित | १० चैत्र २०७८, बिहीबार १३:५०