लिबियामा फसेका १५ नेपालीको उद्धार

काठमाडौ‌ंः युद्धग्रस्त लिबियामा फसेका १५ जना नेपालीलाई अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)को क्याम्पमा राखिएको छ। लिबिया हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार उनीहरूलाई युद्धग्रस्त क्षेत्रबाट सकुशल उद्धार गरी आईएमओको त्रिपोलीस्थित क्याम्पमा ल्याएर राखिएको हो।

पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धबहादुर अधिकारी क्षेत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर विक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, अजयकुमार चौधरी, प्रकाश विश्वकर्मा र मनोहर कार्कीलाई त्रिपोलीस्थित संयुक्त राष्ट्रसंघीय शान्ति नियोगको नेपाली शान्ति सेनासँग समन्वयमा उद्धार गरिएको हो।

उनीहरूलाई खाने बस्ने प्रबन्ध मिलाउनुका साथै नेपाल जानका लागि हवाई टिकटको समेत व्यवस्था गरिदिने भएको दूतावासका प्रवक्ता सुजन बिडारीले बताए। उनीहरू कार्यरत कम्पनीले जबरजस्ती काममा लगाइएको थियो। नेपाल फर्कनका लागि राहदानी समेत दिइएको थिएन। दूतावासले स्वदेश फिर्न ट्राभल डकुमेन्ट बनाई पठाइएको छ। यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ०८:०१