घले पक्षको महाधिवेशन रोकिदिन आग्रह गर्दै प्रधानमन्त्री देउवा र परराष्ट्र मन्त्री खड्कालाई पत्राचार (पत्रसहित)

काठमाडौं – गैर आवासीय नेपाली संघमा असन्तुष्ट पक्षले आयोजना गर्न लागेको महाधिवेशन र विश्व सम्मेलन रोकिदिन प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई पत्राचार गरिएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई पत्र लेख्दै असन्तुष्ट पक्षको महाधिवेशन र विश्व सम्मेलन रोकिदिन आग्रह गर्नु भएको हो ।

‘एनआरएनएले निर्वाचन, महाधिवेशन र विश्वसम्मेलनको मिति तय गरिसकेको र सहमतिको लागि आवश्यक छलफल भैरहेको अवस्थामा संघको नाममा अवैधानिक रुपमा केहि असन्तुष्ट पक्षहरुले भोलि २२ मार्च २०२२ देखि २५ मार्च २०२२ सम्म आयोजना गर्न लागेको हुनाले उक्त सम्मेलन तथा महाधिवेशनलाई रोकिदिनुहुनकोलागि सम्माननिय प्रधानमन्त्रीसमक्ष हार्दिक अनुरोध गर्दछु’, अध्यक्ष पन्तले सोमवार लेखेको पत्रमा भनीएको छ ।

एनआरएनएमा संस्थापन पक्षले यही मार्च २४ र २५ तारिखमा अनलाईनमार्फत निर्वाचन गर्ने तयारी गरिरहँदा निर्वाचन प्रक्रियामा असन्तुष्ट डा. शेष घले पक्षले भने यही मार्च २२ देखि २५ सम्म महाधिवेशन र निर्वाचन गर्दैछ ।

तर आजै उच्च अदालत पाटनले भने दुवै पक्षलाई छलफलका लागि बुधबार बोलाउँदै त्यतिन्जेल सम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।


प्रकाशित | ७ चैत्र २०७८, सोमबार १८:४८