जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवरोध

काठमाडौं : गत वर्ष वर्षाको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । नेपाल–भारत सीमामा पर्ने धनुषाको इनरुवातर्फ १०० मिटर लिक पूर्णरुपमा बाढीले क्षतिग्रस्त भएको थियो । रेल विभागका अनुसार बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब ८ करोड रुपैयाँको क्षति पुर्याएको थियो ।

“कमला नदीमा वर्षाको समयमा पानीको बहाव बढ्दा ६५० मिटर लम्बाइमा तटबन्ध छैन,” रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी अमन चित्रकारले कारोबारसँग भने, “नदीको बहाव बढ्दा रेलको लिक बगाएको थियो ।”

त्यसैले यसका लागि दीर्घकालीन विकल्प खोजिनुपर्ने उनको भनाइ छ । यो खण्डमा रेल सञ्चालनका लागि नेपाल सरकारले भारतको कोंकण रेल्वे कर्पोरेसनसँग खरिद सम्झौता गरिसकेको छ । जसअनुसार जनकपुर–जयनगरमा २ वटा रेल सञ्चालन हुनेछन् । २०७५ चैतमा मन्त्रिपरिषद्को बैठकले ८४ करोड ६५ लाख रुपैयाँ रेल विभागलाई निकासी गरेको थियो । जसअनुसार गत वैशाख महिनामा भारतसँग रेल खरिद सम्झौता भएको थियो ।

नेपालले खरिद गर्न लागेको डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन हो । यो रेल दुवै भागबाट चलाउन सकिन्छ । छोटो दूरीका लागि उपयुक्त रेल हो यो । यसमा डिजेल इञ्जिनबाट बिजुली उत्पन्न हुन्छ र त्यसबाट रेलमा हुने ट्र्याक्सन मोटर चल्छ । यसले प्रतिघण्टा १६० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ ।

भारतले मंसिरसम्ममा एउटा रेल उत्पादन गरेर नेपाललाई दिने विभागले जानकारी दिएको छ । वर्षातको समयमा रेलको ट्र्याक सुरक्षित बनाउन अग्लो पुल वा नदी किनारमा तटबन्ध बनाउनुपर्ने चित्रकारको भनाइ छ । रेलको ट्र्याक बगाएको क्षेत्रबाट पानीको स्थायी निकासी हुने विकल्प नभएको उनले बताए ।

रेलको ट्र्याक निर्माणका क्रममा केही मात्रामा कल्भर्ट निर्माण गरिए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । पहिले निर्माण गरिएका कल्भर्टले समेत पानीको चाप थेग्न नसकेको उनले बताए ।

“रेलका लागि समथर जमिनलाई अग्लो बनाइएको छ तर पानीको स्थायी निकास भइसकेको छैन,” उनले भने । जसका कारण वर्षाको समयमा पानीको उच्च बहाव हुँदा समस्या निम्तिएको हो ।

भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर–जनकपुर रेलमार्ग निर्माण गरिएको हो । जयनगर–जनकपुर रेलमार्ग निर्माण पूरा भएर रेल सञ्चालन गर्ने तयारीमा रेल विभाग छ ।

भारतले करिब ९ अर्ब रुपैयाँको लागतमा ६९ किलोमिटर जयनगर–जनकपुर–कुर्था–विजयापुरा–बर्दिबास खण्डमा विस्तार गरिरहेको छ । जयनगर–जनकपुर खण्डको ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेको थियो । तर, उक्त रेलमार्ग नेपाललाई हस्तान्तरण गर्नुअघि बाढीले क्षति पुर्याएको हो ।

भारतले नेपाललाई हस्तान्तरण नगर्दै समस्या आएकाले यसको मर्मत भारत सरकारले नै गर्नेछ । पानीको बहाव बढेर रेलमार्ग बिग्रिएपछि दुबै देशका प्रतिनिधिले स्थलगत निरीक्षणसमेत गरेका थिए ।

रेलमार्ग बिग्रिएपछि रेल विभागले भारत सरकारलाई पत्र लेखी जानकारी गराइसकेको विभागको भनाइ छ । भारत सरकारले पनि वर्षाको समयमा फेरि प्रभावित हुने सम्भावनालाई ध्यानमा राख्दै यस रेलमार्गलाई कसरी दीर्घकालिन बनाउने भन्नेमा ध्यान दिएको विभागको भनाइ छ ।


प्रकाशित | २० कार्तिक २०७६, बुधबार १०:४५