जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोकियो – जापानको मियागी र फुकुशिमाको उत्तरपूर्वी प्रान्तहरूमा बुधबार राति ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । मौसम विज्ञान विभागका अनुसार जापानको समय राति ११ बजेर ३६ मिनेटमा भूकम्प गएको हो ।

मौसम विभागले १ मिटर सुनामी आउन सक्ने चेतावनी दिँदैं स्थानीय बासिन्दाहरूलाई समुद्री तटबाट टाढा रहन र उच्च जमिनमा जान आग्रह गरेको छ ।

भूकम्पको धक्का जापानको उत्तरपूर्वी क्षेत्र तोहोकुदेखि टोकियो महानगरीय क्षेत्रसम्म र ओसाका प्रिफेक्चरको केन्द्रमा रहेको कन्साइ क्षेत्रमा समेत महसुस गरिएको थियो। राजधानीमा केही मिनेटसम्म गएको भूकम्पका कारण टोकियोभर विद्युत सेवा अवरुद्ध भएको थियो  भने कान्तो र तोहोकु क्षेत्रका करिब २३ लाख घरमा विद्युत अवरुद्ध भएको थियो ।

सरकारले एक कार्यदल गठन गरेको छ । प्रधानमन्त्री फुमियो किशिदाले सरकारी मन्त्रालय र नगरपालिकासँगको सहकार्यमा उद्धार कार्य सञ्चालन गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

‘आउँदो हप्ता वा सो भन्दा बढी  माथिल्लो तहको शक्तिशाली भूकम्प जाने सम्भावना छ’, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले मध्यरातमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामी सतर्क हुन आवश्यक छ।’ ‘


प्रकाशित | २ चैत्र २०७८, बुधबार २१:१७