युरोकपमा आज तीन खेल हुदैँ, कुन–कुन टिम भिड्दैछन् ?

काठमाडौँ । युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे हुनेछ । फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो ।

रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोलले पराजित भएको थियो । आजको दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र टर्कीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।

टर्की पनि पहिलो खेल जित्ने योजनामा छ । टर्की पहिलो खेलमा इटालीसँग ३–० ले हारेको थियो । आजको तेस्रो खेलमा इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्वीट्जरल्याण्डबीचको खेल राति १२ः४५ बजे हुनेछ ।

इटाली लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा बराबरीमा रोकिएको स्वीट्जरल्याण्ड आज पहिलो जित निकाल्ने योजनामा छ ।


प्रकाशित | २ असार २०७८, बुधबार ०९:५३