भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्न दुई देशका श्रममन्त्री सहमत

युएई – भिजिट भिसामा युएईमा अलपत्र नेपालीको समस्या समाधान गर्न दुई देशका श्रममन्त्री सहमत भएका छन् । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच भएको भेटवार्ताको क्रममा भिजिट भिसामा युएईमा अलपत्र नेपालीको समस्या समाधान गर्न दुई देशका श्रममन्त्री सहमत भएका हुन ।

भेटवार्ताका क्रममा उहाँहरुबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको हो । । श्रममन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रसंशा गर्नुभएको थियो ।

मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

लामो समयदेखि कार्यरत घरेलु महिला श्रमिकलाई पुनः श्रम स्वीकृति खुला गर्ने नेपाल सरकारको निर्णयले युएईमा रहेका घरेलु महिला श्रमिक लाभान्वित हुने मन्त्री अवारको भनाइ थियो ।

उहाँले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल हुनुहुन्थ्यो । युएईका तर्फबाट त्यहाँका मानव संसाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामीलगायत सहभागी हुनुहुन्थ्यो ।


प्रकाशित | २ चैत्र २०७८, बुधबार १३:१६