रुसमा सम्पूर्ण विज्ञापन बन्द गरेको गुगलको घोषणा

काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी गुगलले रुसमा सम्पूर्ण विज्ञापन बन्द गरेको घोषणा गरेको छ । छिमेकी युक्रेनमाथि सैन्य हमला गरेपछि रुसमाथि प्रतिबन्ध लगाउँदै गुगलले विज्ञापन सेवा बन्द गरेको घोषणा गरेको हो ।

रुसमा सबै प्रकारका विज्ञापन बन्द गरेको घोषणा गर्दै कम्पनीले भन्छ, ‘हामी रुसमा गुगल एड बन्द गर्न गइरहेका छौं । हामी यसपछि हुने आफ्नो निर्णय पनि सबैलाई जानकारी दिने छौं ।’ कम्पनीको यो निर्णयले रुस भित्र बज्ने सम्पूर्ण विज्ञापनलाई समेट्ने छ ।

युट्युबमार्फत हुने प्रसारण समेत यही निर्णयबाट रोकिने गुगलले जनाएको छ । गुगलको यो कदमले रुसभित्र रहेका ठूलो प्रविधि प्लेटफर्मले आफ्नो सेवा बन्द गर्ने तयारीमा रहेको समेत देखाएको छ । यस्तै, रुसमा सञ्चालनमा रहेका ठूलो प्रविधि कम्पनीले निरन्तर सेवा बन्द गर्दै आइरहेका छन् ।

यद्यपि, रुसी सरकारले यस अघि नै अमेरिकी प्रविधि कम्पनीहरूमाथि प्रतिबन्धको घोषणा गरिसकेको छ । रुसले युट्युब, गुगल, फेसबुक र ट्वीटरजस्ता प्रविधि कम्पनीमाथि आफ्नो देशमा प्रतिबन्धको घोषणा गरिसकेको छ ।


प्रकाशित | २६ फाल्गुन २०७८, बिहीबार १०:४१