पोखरा महानगरको मतगणना अन्तिम चरणमा, कसले मार्ला बाजी ?

कास्की । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा कूल एक लाख ४३ हजार २२६ मत खसेकामा एक लाख २५ हजार ५२० मतको गणना सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज रातिसम्म पोखराका सबै वडाको अन्तिम परिणाम सार्वजनिक हुने जनाएको छ । पोखरामा अब १७ हजार ७०६ मत गन्न बाँकी छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्मको अद्यावधिक विवरणअनुसार सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले चार हजार २९ मतको अग्रता बनाउनु भएको छ । आचार्यले ५० हजार ६१२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रत्याशी नेकपा एमालेका कृष्णबहादुर थापाले ४६ हजार ५८३ मत प्राप्त गर्नुभएको छ । गणना अन्त्यतिर पुग्नै लाग्दा आचार्यले मतान्तर फराकिलो बनाउनु भएको हो ।

मतगणनाको सुरुआतदेखि नै अग्रता बनाएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल हुनु भयो ।महानगर प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ३३७ मत प्राप्त गर्नुभएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार गनेश पौडेलको दुई हजार ८६४ मत ल्याउनु भएको छ ।


प्रकाशित | ९ जेष्ठ २०७९, सोमबार १५:३८