प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक राष्ट्रिय सभाको अधिवेशन शूरु हुँदै

काठमाडौँ । राष्ट्रिय सभाको अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । शुक्रबार अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ ।

सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि अधिवेशन प्रारम्भअघि अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्था फेरिएको छ । यसअघि कायम रहेको भौतिक दूरीको प्रबन्धलाई पनि थप व्यवस्थित बनाइएको छ ।

सचिवालयले अधिवेशन प्रारम्भको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको हो । सार्वजनिक सम्भावित कार्यसूचीमा अधिवेशन प्रारम्भबारे राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराइनेछ ।

यस्तै मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति कार्यालयको पत्रको जानकारी पनि सभामा गराइनेछ । यस्तै बैठकमा अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउबाट भएको समिति गठनको आदेश पनि अनुमोदनका लागि सदनमा पेस गरिने सम्भावित कार्यसूची रहेको छ । यस्तैै अधिवेशन प्रारम्भका अवसरमा संसदीयदलका नेताहरूले सम्बोधन गर्ने पनि सम्भावित कार्यसूची रहेको छ । यसैगरी अधिवेशन नभएको अवधिमा सरकारको सिफारिसमा विभिन्न समयमा जारी गरेका सातवटा अध्यादेश पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसबीचमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन, संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश जारी भएका थिए । यस्तै औषधि ९तेस्रो संशोधन० अध्यादेश, ऐन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै सदनको अधिवेशन नभएको अवधिमा निधन हुनुभएका बहालवाला तथा पूर्वसांसदको निधनमा पनि शोक प्रस्तावको सम्भावित कार्यसूची रहेको छ । यसबीचमा प्रतिनिधि सभा सदस्यद्वय सानु शिवा र सूर्यबहादुर केसीको निधन भएको थियो । यस्तै प्रतिनिधि सभाका पूर्वसदस्यहरू ओमकारप्रसाद गौचनको पनि यस अवधिमा निधन भएको थियो ।


प्रकाशित | १७ पुष २०७७, शुक्रबार ०९:४०