एमसीसी जबरजस्ती टेबल गरिए सरकारमा नरहने माओवादीको निर्णय

काठमाडौं – नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने निर्णय गरेको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले एमसिसी संसदमा टेवुल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने अन्यत्र सरकारमा नरहने निर्णय गरेको जानकारी दिनु भयो ।गुरुङले गठबन्धनको निर्णयबिना सरकार वा कुनै घटकले एमसिसी अगाडि बढाएमा गठबन्धन तोडिएको हुने भएकाले त्यो अवस्थामा सरकारबाट स्वत: अलग हुने बताउनु भयो ।

गुरुङले सञ्चारकर्मीसँग कुरा गर्दै सकेसम्म सबै दलको सहमति आवश्यक पर्ने र नभए कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न आवश्यक रहेकाले सबैको सहमति जुटाएर मात्र एमसिसी पास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘सरकारमा रहेका दलहरूबीचमा सहमति नभइ पेस गर्ने कुरा गठबन्धन तोडेर गर्ने कुरा हो । त्यस्तो भयो भने सरकारमा रहने कुरा हुँदैन ।’

आज १ बजे बस्ने संसदको बैठकमा कांग्रेसले एमसिसी टेवुल हुने बताइरहँदा संसदको कार्यसुचीमा सो विषय समावेश गरिएको छ । यद्यपी आजै एमसिसी सदनमा टेवुल गरेर पारित गर्ने हल्लाका बीच नेपाल बन्दको समेत आह्वान गरिएको छैन ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुग्नु भएको छ । प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गर्न बालुवाटार जानु भएको जानु भएको हो ।


प्रकाशित | ४ फाल्गुन २०७८, बुधबार ११:५८