हङकङमा मनाइयो अन्तर्राष्ट्रिय नारी दिवस

हङकङ – गैरआवासिय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङले संयुक्त रुपमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् । एनआरएनए हङकङसँगको सहकार्यमा आइतबार एक कार्यक्रमको आयोजना गरी महिला दिवस मनाइएको हो ।

महिला दिवस ८ मार्चमा पर्ने भए पनि हङकङका महिला दिदिबहिनीको साप्ताहिक विदालाई मध्यनजर गर्दै दुईदिन अघि नै कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा एकल महिला संस्थाकी संस्थापक अध्यक्ष तथा नेपाल मानव अधिकार संघकी सदस्य लिली थापा प्रमुख अतिथि थिइन्। यस्तै पीए नेपालकी संस्थापन अध्यक्ष इन्दिरा रानामगर र शक्ति समूहकी संस्थापक तथा अध्यक्ष चरिमाया तामाङ पनि कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागि हुनुहुन्थ्यो ।

कार्यक्रममा सहभागि वक्ताहरुले अन्तर्राष्ट्रिय समुदायमा नेपाली महिलाको अवस्था, उनीहरुले भोग्नु परेका समस्या, समाधानका उपायदेखि महिला सशक्तिकरण र महिला अधिकारको विषयमा संवाद भएको थियो ।

कार्यक्रममा एकल महिला संस्थाकी संस्थापक अध्यक्ष तथा नेपाल मानव अधिकार संघकी सदस्य लिली थापाले लैंगिक समानता भोलिको लागि आवश्यक भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘यो संसारभरि नै चलिरहेको हो। नेपालमा पनि लैंगिक समानता र सामाजिक न्याय भोलिको सुनिश्चितता भनेर सरकारले विषय ल्याएको छ । महिलाको भोलिको अवस्थालाई अघि बढाउन आज नै समानता र सामाजिक न्यायमा काम गर्नुपर्छ भन्ने हो ।’

थापाले विभिन्न किसिमका प्रकोप र परिस्थितिले गर्दा महिला नै पीडित हुनुपर्ने अवस्था रहेको बताउनु भयो । यस्तोमा सरकारले महिलालाई समान न्याय र अधिकारका लागि लैंगिक सामानताको विधेयक पनि नेपालमा लागू हुन लागेको बताउनु भयो । उहाँले सरकारलाई धच्धच्याउने र विधेयक लागू गराउने कुरामा महिलाहरुको प्रमुख भूमिका हुने बताउनु भयो ।

त्यस्तै, थापाले कोभिड महामारीको समयमा नेपालमा बढेको बलात्कार र महिला हिंसाविरुद्धमा सरकारले कानूनलाई लामो सजाय बनाउनका लागि अध्यादेश नै ल्याएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘अध्यादेश नै ल्याएर भएपनि महिलाको पक्षमा कानून आएको छ, त्यो समान पक्ष हो। यसले महिलालाई न्याय दिन्छ ।’

पीए नेपालकी संस्थापन अध्यक्ष इन्दिरा राना मगरले कार्यक्रममा जेलमा परेका महिलाको नागरिकता नभएको र आफूले उनीहरुकै बच्चालाई हुर्काइरहेको प्रसंग सुनाउँदै महिलाहरुले फरक(फरक किसिमको विभेद भोग्नु परेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘लैंगिक असमानताको असर त खोपमा पनि देखिएको छ। नागरिकता नभएका आमाहरुका बच्चाहरु मैले हुर्काएको छु। उनीहरुले नागरिकता नभएकै कारण खोपसम्म लगाउन नपाएको अवस्था छ ।’

राना मगरले महिलाले चारैतिर विभेद भोग्नु परेको सुनाउनु भयो । कोभिड महामारीको समयमा आफूले महिलामाथि भएको हिंसाका घट्नाहरु देखेको उदाहरण सुनाउँदै उनले महिलाले सबैतिर विभेद भोग्नु परेको बताउनु भयो ।

‘अरु देशमा जेल चलाउने मान्छे जेलसम्बन्धी पढेको, जेललाई सुधार ल्याउन सक्ने विज्ञ राखेको हुन्छ। नेपालमा भने जेलमा सिक्दै गरेकोलाई सारिन्छ। बुझ्दै नबुझेकोलाई जेलर बनाएर पठाइन्छ,’ उहाँले भन्नु भयो, ‘गरिवीका कारण ७५ प्रतिशतहरु जेलमा पुगेका छन् । निर्दोष महिलाहरुलाई गरिबीकै कारण जेलमा राखिएको छ । उनीहरु निर्दोष हुँदा पनि जेलमा बस्नु परेको छ ।’

उहाँले जेलमा सुधार गर्ने भन्दा पनि सास्ती दिने अवस्था रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘समाजमा महिलाले भोग्नुपरेको विभेदको अन्त्य उनीहरु जेलमा पुगेर हुन्छ। कति धेरै समाजका महिलाहरुसँग नागरिकता छैन्, उनीहरुलाई सरकारले हेरेको छैन्, समाजले हेरेको छैन्। उनीहरुले समाजमा सास्ती मात्रै भोगिरहेका छन् ।’

शक्ति समूहकी संस्थापक तथा अध्यक्ष चरिमाया तामाङले अधिकांश महिलाको समस्याबारे नेपाली समाज ज्ञात भएको तर, यसको समाधान नभएको बताउनु भयो । उहाँले आफ्नो संस्था ‘शक्ति समूह’का महिलाहरु हिजो मानव बेचबिखनमा परेर आज त्यसविरुद्धमा जुटेका महिलाहरु भएको बताउँदै महिलाको समस्याको कुरा मात्रै नभएर सकरात्मक सोचसहित अघि बढ्न आवश्यक भएको बताउनु भयो ।

‘समस्यामा सकरात्मक सोचसहित कसरी अघि बढ्न सकिन्छ रु भन्ने सोच्नुपर्छ,’ उहाँले भन्नु भयो, ‘जीवनका हरेक पलबाट मानिसले सिक्छ। अझ त्यसमा विगतका तितो अनुभवहरुले भोलिको लागि आजको दिनमा सिकाईको खुड्किलो बनाएर हिड्नुपर्ने यर्थाथपरक छ।’ यसको उदाहरण आफू पनि भएको उहाँले बताउनु भयो ।

महिला सहभागिता उपस्थितिको लागि मात्रै नभएर अर्थपूर्ण भूमिकामा आवश्यक रहेको उहाँको भनाई छ । उहाँले भन्नु भयो, ‘अर्थपूर्ण भूमिका निभाउन हाम्रो समाज, राष्ट्र, राज्यसत्ता सबैको सहयोग आवश्यक छ।’ परिवर्तन आफैंबाट खोज्नु पर्ने तर, त्यसलाई सफल बनाउन परिवारदेखि राज्यको नीति नियमजस्ता कुराहरुको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा एनआरएनए हङकङकी पूर्व अध्यक्षसमेत रहेकी टिका गुरुङ (राधिका) ले ११२ औं अन्तराष्ट्रिय महिला दिवसको महिलाहरुलाई शुभकामना र स्वागत गर्दै हङकङमा आफूहरुले २०१५ देखि विविध कार्यक्रम गर्दै आएको बताउनु भयो ।

गुरुङले महिलामाथि भइरहेको पूर्वाग्रहलाई कसरी तोड्ने रु भन्ने विषयमा बहस हुनपर्ने बताइन्। पछिल्लो समय नेपाली महिलाहरु सक्षम भएको उहाँको भनाई छ ।

कार्यक्रममा एनआरएनए पुर्व एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजक जुनु गुरुगं, वर्तमान एसिया प्याशिफिक महिला संयोजक कंचन थापा, एनआरएनए मकाउकी पुर्व अध्यक्ष शान्तिदेवी अधिकारी, साउदी अरवबाट आइसिसी सदस्य यासमीन बेगम सायदलगायतले पनि बोल्नु भएको थियो ।

कार्यक्रममा एनआरएन हङकङका अध्यक्ष गोकर्ण ढकालले आफूहरुले महिला अधिकारको विषयमा निरन्तर कार्यक्रम गर्दै जाने बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा युवा सशक्तिकरण र महिला सशक्तिकरणलाई विशेष प्राथमिकता दिने बताउनु भयो ।

कार्यक्रम एनआरएनए हङकङ उपाध्यक्ष तथा नेपाली महिला संघ हङकङकी महासचिव अनु राईले संचालन गर्नु भएको थियो भने महिला फोरम संयोजक कविता गुरुङले स्वागत गर्नु भएको थियो ।

असाहय महिला तथा बालबालिकालाई आर्थिक सहयोग

त्यस्तै सोही अवसरमा नेपालमा रहेका असाहय महिला तथा बालबालिकालाई आर्थिक सहयोग गरिएको छ । महिला संयोजक कविता गुरुङका अनुसार महिला तथा बालबालिकाको संरक्षणमा क्रियासिल रहेका चार सामाजिक संस्था एकल महिला संस्था, पीए नेपाल, शक्ति समूह र मुस्कान नेपाललाई ५० हजारका दरले आर्थिक सहयोग गरिएको हो ।

असाहय महिला तथा बालबालिकासहयोगार्थ च्यारिटीमार्फत ४ लाख ९३ हजार संकलन भएको थियो। बाँकी रकम भने आवश्यकता अनुसार अन्य च्यारिटीका क्षेत्रमा खर्च गरिने संयोजक गुरुङले बताउनु भयो ।


प्रकाशित | २३ फाल्गुन २०७८, सोमबार १४:०३