चितुवाको छाला र भालुको पित्तसहित भक्तपुरमा ५ पक्राउ

भक्तपुर : प्रहरीले चितुवाको छाला र भालुको पित्तसहित भक्तपुरबाट ५ जना पक्राउ परेका छन् ।  प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर भिमफेदीका ४० वर्षीय आनन्द तामाङ, आखेलढुंगाका २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौताराका ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोरका ३४ वर्षीय रत्नबहादुर माझी र सिन्धुलीकै विष्णुबहादुर माझी रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले सूर्यविनायक चोकबाट बुधबार राति उनीहरुको साथबाट २ थान छाला र भालुको पित्तसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार १६:११