एनआरएनए अमेरिकाको आकस्मिक बैठक : के-के भए निर्णय ?

न्यूयोर्क – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आइसिसीलाई बुझाउनुपर्ने सदस्यता शुल्क र एनसिसीबाट पठाइएका महाधिवेशन प्रतिनिधि लगायत देखिएका विभिन्न समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

एनसिसी अमेरिकाको शुक्रबार बसेको आकस्मिक बैठकले महासचिव अन्जन कुमार चौलागाईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको अध्यक्ष बृद्धि सागर सुवेदीले जानकारी दिनु भयो ।

अध्यक्ष सुवेदीले आइसिसीबाट शुक्रबार पत्र प्राप्त भएसँगै बसेको बैठकले समस्या समाधानका लागि गठित समितिलाई टिओरआरसहित दुई महिनाको समय दिइएको बताउनु भयो ।

समितिले केन्द्रसँग समन्वय गरेर एनसिसी र आइसिसीबीच देखिएका समस्या समाधान गर्ने अध्यक्ष सुवेदीले बताउनु भयो । आइसिसीलाई बुझाउनुपर्ने सदस्यता शुल्क वापतको ५ डलर लेभी छुट्टै खातामा राखिएको र आइसिसीले रकम पठाउन आवश्यक कागजपत्र तथा महाधिवेशन प्रतिनिधिको समाधान गरेसँगै रकम पठाइने निर्णय गरिएको उहाँले बताउनु भयो ।

साथै उहाँले एनआरएनए अमेरिकाले यसअघि पनि आइसिसी भवन र लाप्राक बस्ती निर्माणको लागि एकमुष्ठ रकम पठाइएको बताउँदै एनसिसीले भवन खरिद गर्न लागेकाले केहि रकम सहयोग गर्न निर्णय गराएर केन्द्रमा पठाए पनि त्यसको जवाफ नआएको बताउनु भयो ।

उहाँले आइसिसीबाट पत्र प्राप्त भएपछि विभिन्न च्याप्टर सभापति, सल्लाहकार समिति, एनसिसीका पुर्व अध्यक्षहरुसँग समन्वय तथा छलफल गरेर कार्यसमितिबाट दिर्घकालीन सोच राखेर आवश्यक निर्णय गरिएको बताउनु भयो ।

उहाँले कोषाध्यक्षले धेरै पटक कागजपत्र माग्दा पनि वेवास्था गरिएको बताउँदै आफ्नो नाममा प्रेसित गरेर सबै सदस्यलाई ईमेल पठाइएकोमा आपत्ति समेत जनाउनु भयो ।

साथै उहाँले समितिले कोमार्फत एनसिसी सदस्यहरुको गोपनीयता भंग गरिएको हो भन्ने विषयमा पनि अध्ययन गरेर प्रतिवेदन बुझाउने बताउनु भयो ।


प्रकाशित | २१ फाल्गुन २०७८, शनिबार २२:०७