युक्रेनमा तेस्रो दिन पनि रुसको आक्रमण जारी, भ्लादिमिर पुटिनविरुद्ध अमेरिकी प्रतिबन्ध

एजेन्सी – रुसले युक्रेनमा आज तेस्रो दिन आक्रमण जारी राखेको छ । युक्रेनको राजधानी किएभमा विस्फोटका घटना भइरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । राजधानीमा अहिले विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको बीबीसीले जनाएको हो ।

युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । अमेरिकी अर्थमन्त्रालयले औपचारिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफविरुद्ध प्रतिबन्ध लगाएको छ ।

विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु महत्त्वपूर्ण घटना मानिन्छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले शान्तिका लागि थप प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले युक्रेनमाथि आक्रमण गरेका रुसी फौजलाई ब्यारेकमा फर्किन आग्रह समेत गर्नुभएको छ ।

महासचिव गुटेरसले राष्ट्रसङ्घको सुरक्षापरिषद्‌मा रुसले भिटो प्रयोग गरेपछि ट्वीट गर्दै भन्नु भयो, ‘राष्ट्रसङ्घ युद्धपछि लडाइँलाई अन्त्य गर्न जन्मिएको थियो। आज त्यो उद्देश्य हासिल भएन। तर हामीले प्रयास छाड्नु हुन्न। हामीले शान्तिका लागि अर्को प्रयास गर्नैपर्छ ‘।


प्रकाशित | १४ फाल्गुन २०७८, शनिबार ११:४१