युक्रेनमा शान्तिको कामना गर्दै बौद्धनाथमा राजदूतहरुले गरे मैनबत्ती प्रज्वलन

काठमाडौं – युक्रेनमा शान्तिको कामना गर्दै बौद्धनाथमा राजदूतहरुले मैनबत्ती प्रज्वलन गरेका छन् । रुसद्वारा युक्रेनमाथिको अकारण, अनुचित र अनैतिक आक्रमणको विरोधमा आज बौद्धनाथ स्तूपमा अमेरिकी राजदूत र्‍यान्डी बेरी, युक्रेनका लागि अवैतनिक महावाणिज्यदूत किरण वैद्य र नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू भेला भएर मैनबत्ती प्रज्वलन गर्नु भएको हो ।

युक्रेनका जनता, त्यहाँको सार्वभौमसत्ता र त्यहाँको भौगोलिक अखण्डताप्रति आआफ्नो समर्थन जाहेर गर्नका लागि अमेरिका, संयुक्त अधिराज्य बेलायत, नर्वे, फिनल्याण्ड, युरोपेली संघ, अष्ट्रेलिया, न्यूजिल्याण्ड, स्विट्जरल्याण्ड, जर्मनी, जापान, दक्षिण कोरिया, इजरायलका राजदूतहरू, अन्तर्राष्ट्रिय श्रम संगठनका निर्देशक तथा न्युजिल्यान्ड र लात्भियाका अवैतनिक महावाणिज्य दूतहरू सहभागि हुनुहुन्थ्यो।

कार्यक्रममा युक्रेनी राष्ट्रगान ‘युक्रेन अझै नष्ट भएको छैन’ बजाइएको थियो भने विभिन्न राजदूतहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विगत सात दिनमा गरेका विद्रोही भाषणका अंशहरू पढेर सुनाउनुभएको थियो।


प्रकाशित | १९ फाल्गुन २०७८, बिहीबार २२:३३