रोकिएन् सुनकोशी र ईन्द्रावती नदीको दोहन: स्थानीय सरकार र व्यवसायीबीच जुहारी

दिनेश दुलाल/ चौतारा (सिन्धुपाल्चोक)

सिन्धुपाल्चोकका ठूला नदीहरु सुनकोशी र ईन्द्रावतिमा पुग्दा जो कसैले ति नदीहरुको विक्षिप्त र कुरुप दृश्य देख्ने छन् । नदीदजन्य पदार्थमा व्यवसायी, उद्योगी र अवैध धन्दा गर्नेहरुको प्रतिस्पर्धाको अखडा बनेपछि सिन्धुपाल्चोकका मुख्य दुई ठूला नदीहरुमा भईरहेको दोहनले सो क्षेत्र खण्डहर जस्तै बनेको छ । गत साल भन्दा नदी उत्खननमा ५ गुना बढी नदिजन्य पदार्थ निकालिएको जानकारहरु बताउँछन् ।

जिल्लाका तीन ठूला नदी मध्ये ईन्द्रावती र सुनकोशीमा नदि दोहोन चौगुना बढेपछि जिल्ला समन्वय समितिको आयोजनामा विभिन्न सरोकारवाला बीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति चौताराको सभाहलमा भएको विभिन्न सरोकारवाला बीच गरिएको अन्तरक्रिया कार्यक्रममा नदी दोहन हुनुमा एकअर्कालाई दोषारोपण भएको छ । खासगरी जिल्ला समन्वय समितीले नदी दोहन हुनुमा क्रसर उद्योगी तथा व्यवसायीहरुको हात रहेको जनाएको छ भने उद्योगी तथा व्यवसायीले नदी उत्खनन गर्न उद्योगी बाहेकलाई जिम्मा दिएको कारण यस्तो अवस्था आएको बताएका छन् ।

जिल्ला अनुगमन तथा समन्वय समितिको आयोजनामा व्यवसायी र सरोकारवाला बीच भएको एकदिवसीय अन्र्तक्रिया कार्यक्रम एकअर्का बीच जुहारी चल्दा भने अन्र्तक्रियाले कुनै निश्कर्ष निस्कन सकेन । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको जिज्ञासा पछि आफ्नो धारणा राख्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले उक्त कार्यक्रम कसैप्रति आरोप प्रत्यारोप गर्न नबोलाईएको प्रष्ट पार्नुभयो । ’उद्योगी तथा व्यवसायीहरुलाई कुनै आरोप प्रत्यारोप गर्न नभई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर बोलाएका हौं‘, समन्वय समितिका प्रमुख तामाङले भन्नुभयो ।

ईन्द्रावती, सुनकोशी र बलेफी नदि चरम दोहन भएको वर्तमान अवस्था जे देखिन्छ त्यो सत्यता भएको उहाँले खुलासा गर्नुभयो । समृद्वि हाम्रो अनुहार भित्र रहेको हुनाले अब सुन्दर पक्षलाई समेट्न मनभित्र समृद्वि खोज्नुपर्ने तामाङले धारणा राख्नुभयो । जिल्लाका तीनवटै नदिहरु सामन्य जिवनयापन गर्नेहरुको जींदकीसंग जोडिएको हुनाले नदि दोहोन भईरहेको दृश्य हेरेर सत्यताको कशीमा आफुलाई राखेर विश्लेषण गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेदी चेम्जोङले नदि संरक्षण सम्बन्धमा कार्यान्वयनमा आउँदा के कस्ता अप्ठ्यारा छन् छलफ गरेर अगाडी बढ्नु पर्ने सुझाब दिनुभयो । कानुन अनुसार सबैलाई समान व्यवराख्हार गर्नुपर्ने धारणा राख्दै प्रजिअ चेम्जोङले कानुन अनुसार मापदण्ड मिचिएको भए त्यस्ता व्यवसायीलाई कारवाही समेत गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सुनकोशी नदि दोहोन गरेर ठूलो अन्याय गरेको बताउनुभयो । ’सुनकोशी नदि बोक्सीको आरोपमा निर्ममतापूर्वक याताना पाएकी महिलाको अवस्था जस्तो क्षेतविक्षत भएको छ‘, मेयर शेर्पाले भन्नुभयो ।

स्थानीय तहहरुले पर्यटन व्यवसायलाई विकास गर्ने भनिए पनि नदि दोहोनका कारण अस्म्भव भएको उहाँले ठोकुवा गर्नुभयो । व्यवसायीलाई खेद्न नलागेको स्पष्ट पार्दै मेयर शेर्पाले अब छिट्टै नदिलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो ।
नदि व्यवस्थापनका सन्दर्भमा सम्बन्धित सरकारी निकायबीच समन्वयन हुन नसकेको स्पष्ट पार्दै मेयर शेर्पाले यसको लागि जिल्ला समन्यव समिती, प्रहरी प्रशासन र स्थानीय तह बीच समन्वय हुनपर्नेमा जोड दिनुभयो ।

यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मुकन्द मरासिनीले भरपर्दो सुरक्षा संयन्त्र रहेको कारण व्यवसायीहरुलाई चुल्ठेमुन्द्रे र दादागिरी गर्नेहरुबाट कुनै अवरोध नपुगेको ठोकुवा गनुभयो । तर व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा केही कमजोरी देखिएको उहाँले बताउनुभयो ।

यसैगरी अन्र्तरक्रया कार्यक्रममा व्यवसायीहरुले भने क्रसरवालाहरुले नदि दोहन नगरेको जिकिर गरेका छन् । उद्योगी भन्दा वाहिरकाले जथाभावी उत्खनन् गरेकाले दोहन भएको क्रसर उद्योगी रवि श्रेष्ठले ठोकुवा गर्नुभयो । क्रसरवालाहरुसंग एकवटा मात्र मिशिन भएको बताउँदै व्यवसायी श्रेष्ठले उद्योगीले एकपटक खन्दा बाहिरकाले १० पटक खनेको उहाँको तर्क छ । त्यस्तै अर्का व्यवसायी नानीराम चौलागाईले आफुहरुले ठेक्का लिएको ठाउँमा एउटा पनि मेशिन नहालिएको प्रष्ट्याउनुभयो ।

सरकारले नै एकाथरीलाई संकलन र अर्को थरीलाई उत्पादन, विक्री तथा निकास गर्ने दोहोरो भूमिका दिएको कारण समस्या भएको उहाँले खुलस्त पार्नुुभयो । उहाँले सिन्धुपाल्चोक र काभ्रेमा उत्खनन गर्नेहरुले करछली गरेको दावी समेत गर्नुभयो । कार्यविधिमा एक किलोमिटर दुरीमा मेशिन प्रयोग तथा क्रसर राख्न पाउने रहेपनि एक किलोमिटर भित्रै ५ वटा क्रसर राख्दा पनि सम्बन्धित निकाय चुपचाप रहेको उहाँको आरोप छ । उत्खनन् गर्ने सबैलाई कानुन बराबर अधिकार हुनुपर्ने व्यवसायीहरुको माग छ । नदि संरक्षण पनि एउटैलाई र उत्खनन् पनि एउटैलाई दिंदा मात्र नदि दोहन नहुने उनीहरुको तर्क छ ।

व्यवसायी उद्योगी र सरोकारवालाहरुको धारणालाई समेटेर केही दिनमै उक्त अन्र्तक्रिया कार्यक्रममको प्रतिवेदन सार्वजनिक गरिने समन्वय समितिका प्रमुख तामाङले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य शकुन्तला माझीले हालको नदिको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार १२:०२