साझा यातायात निरन्तर घाटामा :  आर्थिक वर्ष ०७४/७५ मा मात्र १ करोड ७८ लाख घाटा

काठमाडौं : उपत्यकाका विभिन्न रूटसँगै लामो दूरीमा पनि बस सञ्चालन गर्दै आएको साझा यातायात करोडौ घाटामा गएको पाइएको छ । साझाले अहिले काठमाडौं–बाग्लुङ, काठमाडौं–वीरगन्ज, काठमाडौं–भैरहवा र काठमाडौं–गोरखा गरी चार रुटमा लामो दूरीका बस सञ्चालन गर्दै आएको छ । २०७० मा १६ बसबाट सेवा सञ्चालन सुरु गरेको साझासँग अहिले ५१ बस सञ्चालनमा छन् ।

साझा यातायात सहकारी संस्था लिमिटेडको शुक्रबार सम्पन्न १२औँ साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७४/७५ मा १ करोड ७८ लाख रुपैयाँ घाटा भएको छ । अघिल्लो आर्थिक वर्षमा भने १ करोड ८२ लाख ६५ हजार रुपैयाँ घाटा थियो । ०७० बाट पुनः सञ्चालनमा आएको साझा यातायातले पाँच वर्षमा दुई वर्ष मात्र नाफा कमाएको छ ।

साझाले गत वर्ष बस सञ्चालन गरेर १० करोड ११ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य शीर्षकमा ३ करोड ४२ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । साझाको बस सञ्चालन खर्च मात्रै १३ करोड ५ लाख ६२ हजार रुपैयाँ रहेको भने प्रशासनिक खर्च, ब्याज र ह्रास तथा कर गरेर कुल १५ करोड ३३ लाख ५८ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार ०९:५९