बेलारुसमा वार्तामा बस्ने रुसको प्रस्ताव युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्धारा अस्वीकार

युक्रेन (किएभ) – युक्रेनले बेलारुसमा वार्तामा बस्ने रुसको प्रस्ताव अस्वीकार गरेको छ । रुसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको बताइरहँदा युक्रेनले वार्तामा बस्न अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको प्रस्ताव अस्वीकार गर्दै बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण नभएको भए मिन्स्कमा वार्ता सम्भव हुने प्रतिक्रिया दिनु भयो ।

साथै उहाँले अरू सहरहरूलाई वार्ता स्थलका रूपमा प्रयोग गर्न भने सकिने बताउनु भयो । ‘हामी शान्ति चाहन्छौँ, हामी भेट्न चाहन्छौँ, हामी युद्धको समाप्ति चाहन्छौँ। वार्सा, ब्रटिस्लाभा, बुडापेस्ट, इस्तानबुल, बाकु सहरका लागि रुसीहरूलाई प्रस्ताव गरेका छौँ’, उहाँले भन्नु भयो ।

साथै जेलेन्स्कीले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार नगरिएका अन्य कुनै पनि शहरमा पनि वार्ता हुनसक्ने बताउनु भयो । ‘हामीमाथि क्षेप्यास्त्र प्रहार नभएको अन्य जुनसुकै क्षेत्रको सहर भए पनि हुन्छ। यो मात्रै इमानदारितापूर्वक वार्ता गर्ने र युद्ध साँच्चिकै अन्त्य गर्ने बाटो हो’, उहाँले भन्नु भयो ।

त्यस्तै, राष्ट्रपति जेलेन्स्कीले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै रुसविरुद्ध लड्नका लागि आह्रवान गर्नु भएको छ । युक्रेन युरोप र विश्व रक्षामा सामेल हुन चाहने जो कोही पनि आउन सक्ने र रुसी युद्ध अपराधीहरू विरुद्ध युक्रेनीहरूसँग मिलेर लड्न सक्न्ने उहाँले बताउनु भयो । उहाँले विदेशी नागरिकहरूलाई युक्रेनको प्रतिरक्षामा सामेल हुन कानुनी रूपमा अनुमति दिइसकेको पनि उल्लेख गर्नु भयो ।


प्रकाशित | १५ फाल्गुन २०७८, आईतवार १४:५३