सगरमाथा सफाइका क्रममा ४ ओटा शव भेटियो

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइका क्रममा ४ ओटा शव भेटिएका छन् । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सफाइका क्रममा ४ ओटा शव भेटिएको पुष्टि गर्नुभयो । विभागले वैशाख १ गतेबाट सफाइ सुरु गरेको हो । सगरमाथा आरोहण सुरु भएदेखि हालसम्म करिब २ सय ७९ जनाको मृत्यु भएको विभागले जनाएको छ । तीमध्ये धेरैको शव निकालिएको भए पनि केही शव भने बाँकी रहेको विभागको भनाइ छ । बाँकी रहेका शवलाई सकेसम्म निकाल्ने कोशस गर्ने विभागका महानिर्देशक घिमिरे बताउनुभयो ।

ती शव काठमाडौं ल्याई जिल्ला प्रशासनको रोहबरमा सकेसम्म आफन्तलाई बुझाउने र सम्भव नभएमा सरकारले नै जलाउने योजना बनाएको छ । सफाइ अभियानमा १२ जना शेर्पाले फोहोर संकलन गरिरहेको जानकारी दिएको हो। सगरमाथा क्षेत्रको सफाइ र उद्धारमा संलग्न भएका अनुभवी १२ जना शेर्पाहरुले बेस क्याम्पदेखि साउथकोलसम्मको फोहोर संकलन गरिरहेको विभागको भनाइ छ।

पर्यटन विभागका अनुसार क्याम्प २ मा ८ जना शेर्पाहरु सरसफाइमा सक्रिय छन् भने तीमध्ये तीन जना तलमाथि गर्ने र साउथकोलमा बसी फोहोर संकलन गर्ने योजनाका साथ १२ जना शेर्पा परिचालन भएका छन्। उनीहरुले फोहोरदेखि मानिसको शव समेत संकलनमा सक्रिय छन्। सफाइको क्रममा हालसम्म ४ शव भेटिएका छन्।

अभियानबाट लुक्ला क्षेत्रदेखि फोहोर संकलनको सुरुवात गरिएको हो। सफाइ अभियानअन्तर्गत बेस क्याम्प र वरपरबाट करिब ५ हजार किलो, साउथ कोलबाट २ हजार किलो, क्याम्प २ र ३ बाट करिब तीन हजार गरी १० हजार किलो फोहोर संकलन गरिने लक्ष्य राखिएको छ।
सगरमाथाबाट संकलित फोहोरलाई जेठ १५ गते सगरमाथा दिवसको अवसरमा नाम्चेमा प्रदर्शनी गरी समापन गरिनेछ । त्यस्तै कानुनी रुपमा रिसाइकल गर्न मिल्ने फोहोरलाई काठमाडौं ल्याएर जेठ २२ गते विश्व वातावरण दिवसको दिन काठमाडौंमा प्रदर्शनी गरी रिसाइक्लिङ गरिनेछ।  हालसम्म ३ हजार किलो फोहोर संकलन गरिएको छ। संकलित फोहोरमध्ये १ हजार किलो फोहोर काठमाडौं ल्याइएको छ भने २ हजार फोहोर ओखलढुंगामा राख्ने तयारी भएको छ। नेपाली सेनाको एम आई १७ हेलिकोप्टरले सगरमाथा क्षेत्रबाट उक्त फोहोर उठाएको हो।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १७:३४