चन्द्रागिरीको शेयरमूल्य २ हजार नाघ्याे, एक महिनामा लगानीकर्ताले झण्डै २ हजार प्रतिशत कमाए

काठमाडौं । चन्द्रागिरी हिल्सको शेयरमूल्य पछिल्लो २० दिनमा लगातार सर्किट लेभलमा काराेबार भएर २ हजार रूपैयाँभन्दा माथि पुगेको छ। कम्पनीको शेयरमूल्य बिहिबार १८९ रुपैयाँले बढेर २ हजार ७९ रुपैयाँ पुगेको हो।

दोस्रो बजारमा कारोबार खुलेदेखि नै कम्पनीको शेयरमा खरिदकर्ताको चाप उच्च छ भने बिक्रीकर्ता अत्यन्तै न्यून छन्। जसले गर्दा मूल्य लगातार बढ्दो क्रममा छ। कारोबार खुलेको सुरुवाति दिनमा बिक्रीकर्ता शून्य हुँदा कम्पनीको शेयर कारोबार नै हुन सकेको थिएन। जसले गर्दा कारोबार खुलेको १३ दिन पश्चात मात्रै कम्पनीको शेयरमूल्यमा लगातार सर्किट लेभलमा काराेबार हुन थालेको थियो। दोस्रो बजारमा ३३ दिन कारोबार भएकोमा २३ दिन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

चन्द्रागिरी हिल्सको गत माघ २५ गतेदेखि नेप्सेमा शेयर कारोबार शुरु भएको हो। कम्पनीले पहिलो शेयर कारोबारको लागि प्रतिकित्ता ९६ रुपैयाँदेखि २९० रुपैयाँसम्मकाे ओपनिङ्ग रेञ्ज पाएको थियो।

दोस्रो बजारमा काराेबार खुलेको पहिलो दिन माघ २५ गते कम्पनीको शेयर तल्लो रेञ्ज नजिक १६१ रुपैयाँबाट खुलेको थियो। कारोबार तल्लो रेञ्जबाट खुलेपछि बिक्रीकर्ता नै देखिएनन्। जसले गर्दा पहिलो दिन कम्पनीको ३० कित्ताभन्दा धेरै कारोबार हुन सकेन र मूल्य पनि ३ रुपैयाँले मात्रै बढेको थियो।

तल्लो रेञ्जबाट कारोबार खुलेकै कारण निकै दिनसम्म लगानीकर्ताले सस्तोमा आफ्नो शेयर बेच्न चाहेनन् र बजारमा ठुलो कारोबार नै हुन सकेन। एक सातासम्म शेयरमूल्य पनि खासै बढेन तर कारोबार बढ्न थालेपछि कम्पनीको शेयरमूल्यमा लगातार सकारात्मक सर्किट लेभलमा काराेबार हुन थालेकाे हाे।

चैत १२ गते, बिहीबार पनि कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २०७९ रुपैयाँ पुगेको छ। कम्पनीको मार्केट डेप्थमा पहिलो एक घण्टासम्ममा नै झण्डै ३ लाख कित्ताभन्दा धेरै शेयर खरिदको लागि माग भइरहेको अवस्थामा बिक्रीकर्ता भने शून्य छ। यस अवधिमा कम्पनीको झण्डै १८ हजार कित्ता शेयर कारोबार भएको छ।

गत ३३ काराेबार दिनमध्ये गत चैत १० गते कम्पनीकाे सबैभन्दा धेरै १९ हजार ७९७ कित्ता शेयर खरिदबिक्री भएकाे थियाे। गत बुधबार कम्पनीकाे काराेबार रकम केही घटेर १७ हजारमा झरेकाे थियाे।

आइपीओ पर्ने लगानीकर्ताले कमाए झण्डै २ हजार प्रतिशत नाफा

कम्पनीकाे आइपीओ हात पार्ने लगानीकर्ताले पनि छाेटाे समयमा नै राम्राे नाफा कमाएका छन्। प्रतिकित्ता १०० रुपैयाँमा खरिद गरिएको शेयर ३३ कारोबार दिनमा नै १९७९ प्रतिशतले बढेको छ। आइपीओ हात पार्ने लगानीकर्ताले गत ३३ दिनमा नै झण्डै २ हजार प्रतिशतले नाफा कमाएका छन्।

चन्द्रागिरी हिल्सले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा गरेको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर १ लाख ३९ हजार ६०० सर्वसाधारणलाई १० कित्ताको दरले बाँडफाँड गरेको थियो।

पहिलो कारोबार १६१ रुपैयाँमा खुलेदेखि बिहीबारसम्ममा कम्पनीको शेयरमूल्य ११९१ प्रतिशतले बढेको छ। मेरो लगानी


प्रकाशित | १२ चैत्र २०७७, बिहीबार १५:५८