युक्रेन-रुस तनाव : वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न चीनको आग्रह

बेइजिङ – चीनले युक्रेन मुद्दाको राजनीतिक समाधानका लागि पहल गर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले युक्रेन मुद्दाको राजनीतिक समाधानका लागि पहल गर्ने जनाएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चीनले सधैं समसामयिक तथ्यका आधारमा आफ्नो अडान र नीति तय गर्ने गरेको उल्लेख गर्दै शान्ति र न्यायको पक्षमा चीन रहेको बताउनु भएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

उहाँले युक्रेन मुद्दाको जटिल इतिहास रहेको र सबै पक्षले सुरक्षा चासोको सम्मान गर्नुपर्ने तथा शीतयुद्धको मानसिकतालाई पूर्णतया त्याग्नुपर्ने बताउनु भयो ।

प्रवक्ता वाङले वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्याको व्यापक समाधान खोजुपर्ने बताउनु भयो । वाङले चीनको दृष्टिकोणबाट केही देशहरूले फाइदा लिन खोजेको पनि बताउनु भयो ।

युरोपको सुरक्षा र स्थायित्वका लागि कुन दृष्टिकोण बढी उपयुक्त हुन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायले निष्पक्ष निष्कर्षमा पुग्ने वाङको विश्वास छ ।

वाङले युक्रेन मुद्दाको शान्तिपूर्ण समाधानको ढोका पूर्णरुपमा बन्द नभएको पनि बताउनु भयो । चीनले सम्बन्धित पक्षहरू शान्त, तर्कसंगत रहने र संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरू अनुरूप वार्ताका माध्यमबाट समस्याहरूको शान्तिपूर्ण समाधान गर्न प्रतिबद्ध रहने विश्वास ब्यक्त गनु भयो ।

उहाँले शान्ति वार्तालाई चीनले आफ्नै तरिकाले सहयोग गरिरहने र त्यसका लागि सबै प्रयासहरूलाई स्वागत र प्रोत्साहन गर्ने बताउनुभयो।


प्रकाशित | १३ फाल्गुन २०७८, शुक्रबार १८:३३