युक्रेनमाथि रुसी आक्रमणको नेपालले गर्‍यो विरोध

काठमाडौं – रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेकोमा नेपालले विरोध जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको विरोध गर्ने जनाएको हो ।

नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनीएको छ, ‘संयुक्त राष्ट्र संघको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू सबै सदस्य राष्ट्रहरूले पूर्ण रूपमा सम्मान गर्नुपर्छ भन्ने धारणा राख्दछ्।’

मन्त्रालयले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव चर्किन नदिन पनि आग्रह गरेको छ ।

त्यस्तै, युक्रेनको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिने कार्य राष्ट्रसंघको बडा पत्र विपरीत हुने भन्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको नेपालले विरोध गर्ने विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित | १२ फाल्गुन २०७८, बिहीबार १४:३६