काठमाडौं : काठमाडौंमा भीषण हावाहुरीसहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा शक्त्तिशाली हावाहुरीसहित वर्षा भएको हो । विगत केही दिन यता गर्मी बढेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा मौसम सफा नै रहने पूर्वानुमान गरेको थियो ।
बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको ‘फानी’ नामक आँधीको प्रभाव नेपालको हिमाली क्षेत्रमा देखिने सम्भावना रहेको भन्दै मौसमविद्हरुले सावधानी अपनाउन आग्रह गरेका छन् । बंगालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात ‘फानी’ विस्तारै उत्तर –पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलै प्रभाव नपरे पनि हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकाले सचेतना अपनाउन आग्रह गरेका हुन ।
मौसमविद्का अनुसार सो ‘फानी’ नामक आँधीको प्रभाव हिमाली क्षेत्रमा देखिने सम्भावना छ । शुक्रबार यो प्रणाली ओडीसा आसपास तिर मोडिने मौसमविद् विभुती पोख्रेलले बताउनुभयो । यसको प्रभावले नेपालको पूर्वी भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने मौसमविद् पोखरेलले जानकारी दिनुभयो । ‘फानी’ नामक आँधीको प्रभाव नेपालमा पर्ने या नपर्ने बारेमा केही दिन यता मौसमविद्ले अध्ययन गर्दै आएका छन् ।
प्रकाशित | १८ बैशाख २०७६, बुधबार १९:२७