रोकिएको उद्धार उडान आजदेखि फेरि सुरु, आज ९ उडान हुँदै

काठमाण्डौ – विदेशमा अप्ठ्यारोमा परेका नेपालीको चौथो चरणको उद्धार उडान आजदेखि फेरि सुरु भएको छ । चौथो चरणको उद्धार २४ गतेसम्म हुनेछ । आज शुक्रबार विभिन्न देशबाट ९ उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । मलेसियाबाट मलिण्डो एअरले नेपाली लिएर आउनेछ भने आज कुवेतबाट मात्रै चार उडानबाट नेपाली घर फर्कंदै छन् । हिमालय एअरको दुई उडानमार्फत कुवेतबाट नेपालीहरु स्वदेश फर्कंदै छन् ।

कुवेतबाटै जजिरा एअरका दुई जहाज पनि आज नेपाली लिएर आउँदैछन् । यूएईको दुबईबाट फ्लाई दुबईको एक उडानमार्फत आज नेपालीहरु स्वदेश आउँदैछन् । आज श्री एअरलान्स बैंकक गएर आउने छ भने हिमालय एअरलान्सको एक जहाज कुनमिङ् गएर आउने छ । गुआन्जाउबाट चाइना साउर्दन एअरलाइन्स पनि नेपाल आउँदै छ ।

त्यस्तै, हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका जहाज कुवेत, यूएई र कतारमा त्यहाँ समस्यामा रहेका नेपाली लिन जाँदै छन् । अहिलेसम्म विभिन्न २९ देशबाट ३५ हजार ८०४ जना हवाइमार्गमार्फत स्वदेश फर्किएका छन् ।


प्रकाशित | १६ श्रावण २०७७, शुक्रबार ०९:३५