स्थानीय तहको कार्यकालसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं -सर्वोच्च अदालतले स्थानीत तहको मिति सम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ  ।  न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावविरुद्ध परेको रिटमा आज मङ्गलवार सुनवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आगामी वैशख ३० गते स्थानीय तहको निर्वाचन गर्दा विगतमा तेस्रो चरणको निर्वाचनबाट निर्वाचित पदाधिकारीका कार्यकाल संविधानले तोके अनुसार पाँच वर्ष नपुग्ने भन्दै निर्वाचन मिति घोषणा विरुद्ध रिट परेको थियो ।

महोत्तरीको भँगाह नगरपालिकाका मेयर सञ्जीवकुमार साहले स्थानीय तहको निर्वाचनको घोषणाविरुद्ध दायर गर्नुभएको रिटमा आज पहिलो पेशी तोकिएको थियो ।

साहले वैशाख ३० गते निर्वाचन गर्दा तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहमा पाँच वर्षे कार्यकाल पूरा नहुने भन्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । २०७४ मा तेस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । विगतमा दोस्रो र तेस्रो चरणसम्म निर्वाचन भएकासहित सरकारले एकैसाथ ७५३ वटै स्थानीय तहको चुनाव वैशाख ३० गते गर्न तयारी गरिरहेको छ ।


प्रकाशित | १० फाल्गुन २०७८, मंगलवार १९:०६