युएईद्वारा नेपाललाई १७६ रनको लक्ष्य

काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि १ सय ७६ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे ।

जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे । नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । किनकी यस खेलले नेपालको विश्वकप यात्राको छिनोफानो गर्नेछ ।

नेपाल आज युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।

यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ । यस पटक भने नेपाललाई मौका रहेको छ ।


प्रकाशित | १० फाल्गुन २०७८, मंगलवार १८:०४