स्थानीय निर्वाचनका लागि आयोगले माग्यो ८ अर्ब ९५ करोड बजेट

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो ।

कोभिडको बेला स्वास्थ्य मापदण्ड पालना गराउन आवश्यक सामग्री राख्दा पनि अघिल्लो स्थानीय तहको निर्वाचनको भन्दा कम खर्चमा गर्न लागेको आयोगको भनाई छ । अघिल्लो निर्वाचनको लागि सरकारले आयोगलाई १० अर्ब २९ करोड उपलब्ध गराएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिनुभयो । निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको उहाँले बताउनुभयो ।

प्रवक्ता पौडेलले भन्नुभयो, “अधिकांश बजेट जिल्लामार्फत मतदान केन्द्रमा खटिने कर्मचारी तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत खर्चिनेछ ।” निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भने कुल बजेटको करिब १० प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ ।

प्रवक्ता पौडेलले आयोगले गर्ने खर्चको अधिकांश भाग मतपत्र छपाइ तथा निर्वाचन सामग्री खरिदमा खर्चिने बताउनुभयो । आयोगका कर्मचारी तथा अन्य प्रशासनिक कार्यमा थोरै मात्रै खर्च हुने उहाँले बताउनुभयो ।


प्रकाशित | १० फाल्गुन २०७८, मंगलवार ०८:५३