एनआरएनए सचिव पदमा दयानिधि सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौँ : गैरआवासीय नेपाली संघको सचिव पदमा दयानिधि सापकोटाले उम्मेदवारी दर्ता गर्नु भएको छ । सापकोटाले सोमबार सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । सापकोटा महेश श्रेष्ठ टिममा हुनुहुन्छ ।

हाल एनआरएनए युरोप उपसंयोजक रहनु भएको सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हक हित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, आत्मियता एवं संगठनात्मक एकतालगायतका एजेन्डा अगाडि सार्नु भएको छ ।

आइसीसी सदस्य हुंदै युरोप उपसंयोजकको जिम्मेवारीबाट खारिइसक्नु भएको सालिन र स्पष्ट वक्ता सापकोटाले विश्वभरका मतदाताहरुमा यसपटक पनि साथ सहयोग गर्न अपिल गर्नु भएको छ ।

को हुन् सापकोटा ?

बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिनु भएको हो दयानिधि । स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुग्नु भयो ।

अध्ययनका क्रममा जर्मनी जानु भएको सापकोटाले त्यहां युरोपेली रहनसहन, भाषा, खाना र जीवनशैलीमात्र अनुभव गरेनन्, इटालियन सेफ हुंदै २८ वर्षकै उमेरमा जर्मनीमा पहिलो रेष्टुरेन्ट खोल्नु भयो ।

करिब १५ वर्ष जर्मनीमा बिताएपछि सन् २००६ मा बेलायत पुग्नु भएको थियो । ५ विभिन्न भाषामा दख्खल भएका सापकोटाले यूके लेस्टरमा दुई इटालियन रेष्टुरेन्ट सञ्चालन गर्नु भएको छ ।

लेस्टर, लन्डन रोडमा सन् २०१३ मा स्थापित ओजीको सफलतापछि उहाँले गत बर्ष मेल्टन रोड सिस्टन लेस्टरमा बिस्ट्रो ओजी शुरु गर्नुभयो । बेलायतमा उहाँ सफल व्यवसायी मात्र होइन, सामाजिक सेवाको क्षेत्रमा पनि अब्बल मानीनुहुन्छ ।


प्रकाशित | २९ आश्विन २०८०, सोमबार १७:५३