२५ शैयाको सूर्यविनायक नगर अस्पताल संचालनमा, पूर्व प्रधानमन्त्री ओलीद्धारा औपचारिक उद्घाटन

भक्तपुर – सूर्यविनायक नगर अस्पताल सञ्चालनमा आएको छ । नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न जगातीमा निर्माण गरेको २५ शैयाको अक्सिजन प्लान्टसहितको अस्पताल संचालनमा ल्याएको हो । अस्पतालको शनिबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेवा शुभारम्भ गर्नु भयो ।

अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा भवन लगायतका पूर्वाधार निर्माण भएपछि अस्पतालन संचालन गरिएको हो ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसीयू तथा भेन्टिलेटर कक्ष, एचडीयू, ओपिडी, जनरल वार्डलगायतका नयाँ संरचना निर्माण गरिएको बताउनु भयो । आजदेखि अस्पतालको सेवा समेत शुरु भएको मेयर थापाले बताउनु भयो ।

नगरपालिकाले टेकु अस्पतालबाट अवकाशप्राप्त विशेषज्ञ डा. सागर राजभण्डारीलाई अस्पतालको निर्देशक बनाएर सेवा शुरु गरेको हो ।

नगरपालिकाको आठ करोड र सांसद विकास कोषको ७५ लाख लागनीमा भवन निर्माण गरी सुरु भएको अस्पताल अहिले २५ शैयाको रहेकामा आगामी दिनमा प्रदेश सरकारसँग शैया थपको स्वीकृति लिएर ५० शैया हुँदै १०० शैयासम्म पुर्याउने लक्ष्य  छ ।

अस्पतालको सेवा शुभारम्भ कार्यक्रममा भक्तपुर क्षेत्र नंं २ सांसद महेश बस्नेत, प्रदेश सांसद सशीजंग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपमेयर जुना बस्नेत, अस्पताल निर्माण समितिका संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष किरण थापालगायतका जनप्रतिनिधिहरुको सहभागिता थियो ।


प्रकाशित | ७ फाल्गुन २०७८, शनिबार २१:२४