गौरिकालाई अर्को स्वर्ण !

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् ।

ओलम्पियन गौरिकाले २ मिनेट १७.७३ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् ।  योसँगै गौरिकाले लगातार दोस्रो दिन स्वर्ण जितेकी छिन् । बिहीबार गौरिकाले महिला २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।

गौरिका सागको पौडीमा व्यक्तिगत विधामा दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनिन् । अब गौरिकाले ६ स्पर्धामा प्रतिस्पर्धा गर्ने छिन् । भारतमा भएको १२ औं सागमा गौरिकाले १ रजत र दुई कास्य जितेकी थिइन् ।

यस स्पर्धामा भारतकी मनु राजिब पटेलले २ मिनेट २०.७१ सेकेण्डको समय निकाल्दै रजत जितिन् । श्रीलंकाकी गंगासेनले २ मिनेट २७.२५ सेकेण्डको समय सहित कास्य जितिन् । गौरिकाले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ ।


प्रकाशित | २० मंसिर २०७६, शुक्रबार १८:५१