श्रीलंकाले अफगानिस्तानलाई दियो १७८ रनको लक्ष्य

एजेन्सी : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई जितका लागि १७८ रनको लक्ष्य दिएको छ । कार्डिफमा वर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २०१ रन बनायो । तर, वर्षाको कारण दुई पटक रोकिएपछि ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले डीएल पद्दतिको आधारमा अफगानिस्तानलाई १७८ रनको नयाँ लक्ष्य दिएको हो  ।

श्रीलंकाका लागि कुशल परेराले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान दिमुथ करुणारत्नेले ३० तथा लाहिरु थिरिमानेले २५ रन जोडे । अफगानिस्तानका मोहमद नाबीले ४ विकेट लिए । त्यस्तै डलट जड्रान र राशिद खानले २/२ विकेट लिए । आज दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेल गुमाएको दुवै टोली दोस्रो खेलमा दुवै टोली अंक जोड्न चाहन्छ ।

पहिलो खेलमा श्रीलंका न्युजिल्याण्डसंग १० विकेटले पराजित भएको थियो । श्रीलंका तालिकाको पुछारमा रहेको छ । अफगानिस्तानविरुद्ध मैदान उत्रदा श्रीलंका सहज जितको खोजीमा हुनेछ । यस्तै अफगानिस्तान पहिलो खेलमा अष्ट्रेलियासंग ७ विकेटले पराजित भएको थियो । तालिकाको नवौं स्थानको अफगानिस्तान श्रीलंकालाई हराएर विश्वकपमा पहिलो जित निकाल्न चाहन्छ ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार २२:२३