एनआरएनए निर्वाचन प्रक्रिया अगाडि बढ्यो, प्रारम्भिक महाधिबेशन प्रतिनिधिको नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन प्रक्रिया अगाडि बढेको छ । निर्वाचन समितिले बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । समितिले बिहीबार प्रारम्भिक प्रतिनिधिको नामावली प्रकाशित गरेको छ । समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम नामावली प्रकाशित गरेको हो ।

संघको विधानअनुरुप गत अगष्ट महिनाको १५ तारिखभित्र राष्ट्रिय समिति मार्फत केन्द्रमा दर्ता भएका ३६३४ जनाको नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार पहिलो चरणमा नामावली प्रकाशन भएकाहरुलाई आगामी फेब्रुअरी २२ तारिखभित्र नपुग भएको कागज र सेल्फी दिने अवसर दिएको छ ।

निर्वाचन समितिका अनुसार सेल्फी नदिएमा उनीहरुको नाम मतदाता नामावलीबाट स्वतः हट्ने छ । सो स्थानमा वैकल्पिक सूचिमा रहेका नामहरु समावेश गरिने जनाइएको छ ।

कार्यतालिका अनुसार फागुन ५ देखि १० गतेसम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ । फागुन ११ मा मतदाता नामावली प्रकाशन, १२ गतेदेखि १५ गतेसम्म मतदाता नामावलीमाथि दाबी विरोध, फागुन १८ मा दाबी विरोधमाथि निर्णय र १९ मा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।

फागुन २० र २१ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, फागुन २२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, फागुन २२ र २३ सम्म उम्मेदवारविरुद्ध दाबी विरोध, फागुन २४ मा उम्मेदवारको मनोनयपत्र जाँच तथा उजुरीमाथि निर्णय र फागुन २५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

त्यस्तै फागुन २७ मा उम्मेदवारले मनोनयन फिर्ता, २८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चैत ७ गते बिहान १० बजेदेखि चैत ८ सम्म बिहान १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, ५३ पदको लागि हुने निर्वाचनको उम्मेदवारी दर्ता शुल्क समेत तोकिएको छ । समितिले अध्यक्षका लागि १० लाख, उपाध्यक्षका लागि ७ लाख, महासचिवको लागि ६ लाख, सचिव र कोषाध्यक्षको लागि ५ लाख, सहकोषाध्यक्षको लागि ४ लाख, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजकका लागि ३ लाख ५० हजार, क्षेत्रीय उपसंयोजक, क्षेत्रीय महिला र युवा संयोजकका लागि २ लाख ५० हजार, क्षेत्रीय युवा र महिला उपसंयोजका लागि २ लाख दर्ता शुल्क तोकिएको हो । उता आइसिसी सदस्यको लागि तोकिएको १ लाख ५० हजार दस्तुर भने शपथ ग्रहण गर्नु अगाडि बुझाउने पर्ने निर्वाचन समितिले जनाएको छ । संघको नयां नेतृत्वको लागि मार्च २१ र २२ तारिखमा अनलाइन मार्फत निर्वाचन हुँदैछ ।

यस्तो छ प्रतिनिधिको नामावली

10th NRN Global Conference & NRNA International General Assembly


प्रकाशित | ५ फाल्गुन २०७८, बिहीबार १२:१०