भ्रष्टाचार गरेकाे प्रमाणित भए झुण्डिएर मर्छु : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको कुनै प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको चेतावनी दिनुभएको छ । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको  स्पष्ट पार्दै यदी आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिनु भएको हो ।

उहाँले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराउनुभयो । उहाँले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको जानकारी गराउनुभएको थियो ।

समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले भने कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ? भन्दै प्रश्न गर्नुभएको थियो । सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गर्नुभएको थियो  ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १४:३७