प्रधानमन्त्रीद्धारा गठबन्धन बैठक आह्वान

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाउनुभएको छ ।

एमसीसी सम्झौता प्रस्ताव संसदबाट अनुमोदन गराउने विषयमा छलफल गर्न बिहीबार अपरान्ह ३ बजे बस्ने गरी प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाउनुभएको हो।

सत्तासाझेदार दल माओवादी केन्द्रले यथास्थितिमा एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको थियो । उक्त निर्णय गरेर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेर जानकारी गराएपछि प्रधानमन्त्री देउवाले बिहीबारका लागि गठबन्धनको बैठक बोलाउनुभएको हो।

प्रधानमन्त्री देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको थियो । तर, माओवादीको निर्णय र प्रचण्डको आग्रहमा बुधबार सो प्रस्ताव सदनको बैठकमा पेस नगर्न प्रधानमन्त्री राजी हुनुभएको छ ।

अब भने गठबन्धनमा सहमति जुटाएर मात्र संसद बैठकमा एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव पेस गरिने भएको छ ।


प्रकाशित | ४ फाल्गुन २०७८, बुधबार १३:०६