पर्यटनमन्त्री आलेले अश्लील गाली गरेको अडियो भाइरल, सचिवालय भन्छ- तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजियो

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले  एक जना व्यक्तिसँग अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको मुम्बईबाट फोन गरेका एक जना सुदूरपश्चिमकै व्यक्तिसँग फोनमा अश्लीन गाली गरेको अडियो भाइरल बनेको हो ।

अडियोमा कतिपय शब्दहरु सुन्नै नसकिने खालका समेत छन् । सो विषयलाई लिएर सामाजिक सञ्जालमा कतिपयले मन्त्री आलेलाई बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन् । 

उता मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै आपत्ति जनाउनु भएको हो ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरेको उनको भनाइ छ । मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन् ।

 


प्रकाशित | ३ फाल्गुन २०७८, मंगलवार १०:१४