आठ वर्षदेखि उत्तरी नाकाबाट निर्यात शून्य, तातोपानी र केरुङबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध

सिन्धुपाल्चोक – उत्तरीतर्फका मुख्य दुई नाका तातोपानी र केरुङबाट हुने चीनसँगको व्यापार आठ वर्षदेखि सहज छैनन् । यी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्य छ । यी दुवै नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्धजस्तै हुँदै आएको, निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले यी दुई नाकाबाट निर्यात नभएको आठ वर्ष भएको र आयात पनि सहज नभएको जानकारी दिनुभयो ।

२०७१ साउन १७ गते जुरे पहिरोपछि रोकिएको निर्यात अहिलेसम्म हुन सकेको छैन । त्यसपछि २०७२ को विनाशकारी भूकम्प, २०७३ र त्यसपछिको भोटेकोसी बाढीपहिरोका कारण देखाउँदै चीनले नाकाको सहज सञ्चालन गरेको छैन । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि २०७६ जेठ १५ गतेसम्म तातोपानी नाका चीनले एकतर्फी रूपमा पूर्ण बन्द गरेको थियो । यो अवधिमा तातोपानी नाकाबाट कुनै पनि कारोबार नै भएन । दुई वर्षअघि आंशिक रूपमा खुलेको यो नाकाबाट आयात पनि खस्कँदै गएको छ ।

नेपाल सरकारको पहलमा चीनले उक्त नाका २०७६ जेठको तेस्रो साता आंशिक रूपमा खुलाएको थियो । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले तातोपानी नाका पूर्ण रूपमा खुलाई आयात र निर्यातमा सहजता ल्याउनका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दै आएको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, अर्थमन्त्री, वाणिज्यमन्त्री र सम्बन्धित निकायका उच्च अधिकारीलाई पटकपटक ध्याकर्षण गराउँदै ज्ञापनपत्र दिइएको भए पनि नाका सहज हुन नसकेको अध्यक्ष श्रेष्ठले गुनासो गर्नुभयो ।
एक महिनाअघि चीनको स्वशातित क्षेत्र तिब्बतको ल्हासास्थित नेपाली वाणिज्य दूतावासमा नेपाल र चीनका वाणिज्य अधिकारीबीच भएको छलफलमा चिनियाँ पक्षले तातोपानी नाकाबाट दैनिक २० गाडी सामान छोडिदिने निर्णय गरेको थियो तर अहिलेसम्म उक्त निर्णय कार्यान्वयनमा आउन नसकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

एक साताअघि पनि भन्सार कार्यालय र सरोकारवाला निकायले चिनियाँ भन्सार कार्यालयलाई नाका पूर्ण रूपमा खुलाउन आग्रह गरिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताउनुभयो । प्रमुख गौतमले स्याउ, स्वास्थ्य सामग्री, तयारी कपडा, इलोक्ट्रोनिक्स सामान, हाइड्रोमेसिनरी सामान आउने गरेको जानकारी दिनुभयो । साता दिन अघिदेखि तातोपानी नाकाबाट दैनिक दुईदेखि पाँच गाडी सामान आयात हँुदै आएको छ । व्यापार सहज नहुँदा उक्त नाकाबाट कारोबार गर्ने व्यापारी, व्यवसायी पेसाबाटै विस्थापित र पलायन हुन थालेका छन् ।

आव २०७७/७८ मा तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले एक अर्ब दुई करोड ६० लाख ३६ हजार ३३९ रुपियाँ राजस्व असुली गरेको थियो । उक्त आर्थिक वर्ष कुल राजस्व लक्ष्य पाँच अर्ब ४७ करोड ९५ लाख ५४ हजार रुपियाँ रहेको थियो । चालू आव २०७८/७९ को माघ मसान्तसम्म ८२ करोड ६४ लाख ५६ हजार लक्ष्यमा दुई अर्ब चार करोड २७ लाख ४४ हजार राजस्व असुली भएको जनाएको छ । आव २०७६/७७ को राजस्व लक्ष्य र असुलीको तथ्याङ्क पनि लक्ष्यभन्दा कम भएको उक्त कार्यालयले जनाएको छ । गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | ३ फाल्गुन २०७८, मंगलवार ०९:१९