च्याम्पियन्स लिगको सेमिफाइनलका खेल : नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट सुरु

काठमाडौं : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलका खेल आजबाट सुरु हुँदैछन् । खेल नेपाली नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट सुरु हुनेछ । आजबाट सेमिका पहिलो लेगका खेल हुनेछ ।यसपटक सेमिफाइनलमा इंग्लिस टोली टोटनह्याम र डच टिम आयाक्स तथा स्पेनिस बार्सिलोना र इंग्लिस टिम लिभरपुल खेल्दैछन् । जसमा आज टोटनह्याम र आयाक्सको पहिलो लेगको खेल हुनेछ । यो खेलका लागि टोटनह्यामले पाहुना टोली आयाक्सलाई आफ्नो घरमा स्वागत गर्दैछ ।

यसअघि अन्तिम आठमा टोटनह्यामले लिग प्रतिस्पर्धी म्यानचेस्टर सिटीलाई हराएको थियो भने आयाक्सले इटायिन युभेन्टसलाई हराएको थियो । मोउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको टोटनह्याम लामो समयपछि सेमिमा पुगेकाले ऊ यो सिजन उपाधि जित्ने दाउमा छ । आज आफ्नो घरमा उत्रिँदा टोटनह्यामसँग टोलीका प्रमुख खेलाडी ह्यारी केन चोटका कारण हुनेछैनन् ।

उनीबाहेक अन्य सबै खेलाडी उपलब्ध छन् । आज टोटनह्यामको टोलीमा डेले अली, सन हेङ–सन, क्रिस्टिएन एरिक्सनलगायत खेलाडी प्रमुख हतियार हुनेछन् । टोटनह्याम घरेलु मैदानमा हुने आजको खेलमा सहज जित निकालेर दोस्रो लेगलाई सहज बनाउने योजनामा छ । खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै टोटनह्यामका प्रशिक्षक पोचेटिनोले आयाक्सविरुद्ध सहज नतिजा निकाल्न प्रयास गर्ने बताएका थिए । उनले आयाक्स युवा खेलाडीले भरिएको टिम भएकाले सचेत भएर खेल्ने बताए ।

यता, आयाक्स भने आज टोटनह्यामको घरमा उत्रिँदा उच्च मनोबलसाथ उत्रिनेछ । किनभने, ऊसँग अन्तिम १६ मा रियल मड्रिड र अन्तिम आठमा युभेन्टसलाई हराएको मनोबल र जोश छ । आज टोटनह्यामविरुद्ध उत्रिँदा आयाक्सलाई युवा खेलाडीको भरोसा छ । उनीहरूले युरोपका दुई ठूला क्लबलाई हराउँदाको अनुभव र जोशलाई आज टोटनह्यामविरुद्ध पनि प्रयोग गर्नेछन् ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार २१:३५