सर्वोच्चले भन्यो ‘अख्तियारको काम निष्पक्ष छैन’

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम निष्पक्ष नभएको सर्वोच्च अदालतको ठहर छ । पदाधिकारी तथा कर्मचारी नियुक्ति र उनीहरूको खटन पटनको प्रक्रियालगायतका कार्यबाट आयोग निष्पक्ष नभएको ठहर हुने सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले इजलासले स्पष्ट गरेको हो ।

इजलासले योग्यता नपुगेको व्यक्तिलाई आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएको, आयोगका पदाधिकारी र कर्मचारी उपर नै भ्रष्टाचारको मुद्दा लाग्ने गरेको तथा आयोगमा पदाधिकारी तथा कर्मचारी नियुक्ति प्रक्रियामा नै संशय पैदा हुने गरेका कारण आयोग निष्पक्ष भएको उल्लेख गरेको छ ।

अख्तियार आफैले घुस रकम दिई सार्वजनिक निकायमा कार्यरत व्यक्तिलाई पक्राउ गर्ने कार्यविरुद्ध दायर भएको रिट निवेदनमाथि भएको अन्तिम आदेशको पूर्ण पाठ तयार गर्ने क्रममा शुक्रबार संवैधानिक इजलासले आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाएको हो । सो विषयमा इजलासले गत वैशाख ८ गते रिट जारी हुनेगरी आदेश गरेको थियो । सर्वोच्च अदालतले आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीको चाहिने योग्यता नभई सो पदमा नियुक्त गरिएको उल्लेख गर्दै २०७३ सालमा उहाँलाई पद मुक्त गर्न आदेश दिएको थियो ।

यसैगरी,आयोगकै पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र आयुक्त राजनारायण पाठकलाई अख्तियारबाट नै भ्रष्टाचारमा मुद्दा दायर गरिएको छ ।केही कर्मचारी पनि घुस काण्डमा फसेका छन् । आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्त हुँदा पनि रकमको चलखेल हुने गरेको, आफन्तलाई छान्ने गरिएको जस्ता आरोप लाग्दै आएको छ । समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


प्रकाशित | ३० जेष्ठ २०७८, आईतवार ०७:४५