स्थानीय तह निर्वाचनः केहि दिनमै कार्यतालिका सार्वजनिक हुने

काठमाडौँ – आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको निर्वाचन आयोगले तयारी तीब्र बनाएको छ । आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिनेदेखि निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत अगाडि बढाएको हो ।

सरकारले आउँदो बैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि आयोगले काम तीव्र पारेको हो । २०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेकोमा २०७७ पुस ६ देखि २०७८ माघ २४ गतेसम्म १६ लाखभन्दा धेरै नयाँ मतदाता थपिएको आयोगको अनुमान छ । निर्वाचन मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलनको काम भने स्थगित गरिसकेको छ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले ९० दिनको छोटो समयलाई आयोगले तीव्र रूपमा सदुपयोग गर्दै फास्ट ट्र्याकबाट स्थानीय तह निर्वाचनको तयारी गरिरहेको जानकारी दिनु भयो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको र केही समयभित्रै कार्यतालिका प्रकाशित हुने जानकारी दिनु भयो ।

कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रमसम्म ल्याइनेछ । कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, निर्वाचन चिह्न प्रदान, निर्वाचन समयदेखि मतगणनासम्मको कार्यक्रम समावेश हुन्छ ।


प्रकाशित | २६ माघ २०७८, बुधबार १०:०३