कमल थापाद्वारा राप्रपा परित्याग गरेको घोषणा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । आज मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन गरि थापाले राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो ।

आफ्ना मागलाई नेतृत्वले सम्बोधन नगरेकाले नचाहँदा नचाहँदै पार्टीबाट अलग हुने निर्णय लिन बाध्य भएको थापाले बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहनेछु । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’

सोमबार उहाँले आफूनिकटका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको भेलामा माग पूरा नभए पार्टीबाट अलग हुने भन्दै त्यसका लागि कार्यकर्तालार्ई तयार रहन आग्रह गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षेप भएको बताउनु भयो । नयाँ पार्टी खोल्नेबारे के विचार छ भन्ने पत्रकारको प्रश्नमा थापाले यसबारे सबैसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने बताउनुभयो ।

थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आउनुभएको थियो । साथै उहाँले केन्द्रीय सदस्य मनोनयनमा पनि अध्यक्ष राजेन्द्र लिङ्देनले एकलौटी गरेको आरोप लगाउनुभएको थियो ।


प्रकाशित | २५ माघ २०७८, मंगलवार १५:०९