घरमै असुरक्षित महिला : सिरहामा एक महिनामा तीन महिलाको पतिबाटै हत्या

घटना १

सिरहा कर्जन्हा नगरपालिका–११ बस्तीपुरको हटलेटवा गाउँकी २९ वर्षीया रितुदेवी ७ जेठ बिहान ६ वर्षीया छोरी पूजाका लागि खाना पकाएर घाँस काट्न गइन् । उनी करिब ११ बजेतिर घर फर्किन् । विद्यालयबाट फर्किएपछि खाना खान भनेर बिछ्यौनामा सुतेकी आमालाई पूजाले उठाउन खोज्दा ‘आमा सुतेकी छ’ भन्दै बाबु चन्देश्वर आफैँले छोरीलाई खाना खुवाए । केही समयसम्म रितुदेवीका बारेमा कसैले पनि चासो दिएनन् । दिउँसो करिब पौने चार बजेतिर पूजाले आमाको मृत्यु भएको भन्दै रुन र चिच्याउन थालिन्, अनि मात्र गाउँलेले यसबारे थाहा पाए । रितुदेवीको शंकास्पद मृत्यु भएको १२ घन्टा नबित्दै पति स्वयंले प्रहरीसमक्ष आफूले घाँटी थिचेर हत्या गरेको स्विकारे ।

घटना २

कल्याणपुर नगरपालिका–८ अरङ्की २१ वर्षीया कञ्चन मण्डलको १३ वैशाखमा काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । आफ्नै घरमा १२ वैशाख बिहान नौ बजेतिर मट्टीतेल खन्याएर आगो लगाएपछि उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मृतककी सासू र नन्दलाई २ जेठमा पुर्पक्षका लागि सिरहा कारागार चलान गरिएको छ । फरार रहेका पति बेचुको खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

घटना ३

सिरहा नगरपालिका–१४ खिरौना गाउँका रामरेश मण्डलसँग विवाह भएकी २१ वर्षीया मनीषाकुमारी मण्डलको गत १९ वैशाखमा मृत्यु भयो । १६ फागुनमा विवाह भएकी मण्डलकी बाबुले विवाहमा कबोल गरेको डेढ तोलामध्ये चारआना सुन दाइजोमा दिन बाँकी रहेकाले परिवारले कुटपिट गरी हत्या गरेको भन्दै सिरहा प्रहरीमा जाहेरी दिए । प्रहरीले तत्काल पति रामरेश र सासू तारादेवी मण्डललाई पक्राउ ग-यो । छोरीको मृत्युपछि गोलबजार नगरपालिका–८ चोहर्वाका बाबु रघुनाथ मण्डलले विवाहमा ज्वाइँलाई दिएको डिस्कभर मोटरसाइकल फिर्ता ल्याएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनीकमा प्रकाशित छ ।


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार ०८:२०