भक्तपुरमा सबै दल मिलेर आउनुस्, एमाले एक्लै काफिछ : महेश बस्नेत

भक्तपुर – नेकपा एमाले पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा सवै दल मिलेर गठबन्धन गरी आए पनि भक्तपुरमा एमाले एक्लै काफी भएको चेतावनी दिनुभएको छ । आज सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू, पुरानो बसपार्कसँगैको रानी खोला पुल शिलान्यास कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरमा एमालेको नेतृत्व आएसँगै विकासले ऐतिहासिक फड्को मारेको बताउनु भयो ।

तीनै तहमा एमालेले नेतृत्व गरेसँगै शिक्षा, स्वास्थ्य, सडक, ढल, खानेपानीलगायतका जनतालाई अतिआवश्यक पर्ने कुराहरु निर्वाचनमा गरेको प्रतिवद्धता भन्दै धेरै भएको उल्लेख गर्दै नेता बस्नेतले एमालेको नेतृत्वले गरेको विकास आयोजनाले गर्दा अबको निर्वाचनमा पाँच दलीय गठबन्धनमात्र नभई अन्य सम्पूर्ण दल मिलेर आएपनि एमाले एक्लैले सानदार विजय हासिल गर्ने उद्घोष गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुरमा सवै दल मिलेर आउनुस्, एमाले एक्लै काफिछ । म एक्लै काफी छु । गफले चिउरा भिजाउने दिन गए । सरकार बनेको ६ महिना भयो, तपाईको सरकारको तर्फबाट एक रुपैया बजेट ल्याउनुभयो ? हाम्रो कामको विरोध गरेरमात्र जनताले भोट हाल्दैनन् । महेश बस्नेतले अरवौं रकम ल्यायो भनेर विरोध गरेरमात्र हुन्छ ? विरोध गर्नेलाई कब्जीयत हुन्छ, प्रेसर हुन्छ र हटअट्र्याक मात्र हुन्छ, अरु केही हुनेवाला छैन ।’

कांग्रेसको खुट्टा समातेर प्रचण्ड र माधवले बैतर्नी गर्ने कार्य भएको उल्लेख गर्दै उहाँले जनताले विकासमा पूर्ण समर्थन गरी आफ्नो घरजग्गाको खाली गरिदिएको तर कांग्रेसका कार्यकर्ताले सडक निर्माणमा अवरोध गरिरहेको बताउनुभयो । विगतमा सूर्यविननायक नगरपालिकाका हेपिएको ठाउँ भएता पनि अहिले आकर्षणको केन्द्र भएको उल्लेख गर्दै उहाँले जनताको चाहना र आवस्यकता अनुसार भएको विकासले नै गुण्डूका जग्गाहरुको अबको चार पाँच वर्ष पछि बानेश्वरको जस्तै हुने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सूर्य उदाएदेखी नअस्ताउन्जेलसम्म मात्र चुनावि गतिविधिहरु गर्नुपर्छ । राती हुने गतिविधिलाई निस्तेज पार्नुपर्छ भन्ने एमालेले अभियान चलाएसँगै भक्तपुरमा एमालेको बाहुल्यता बढेर वर्तमान अवस्थामा पुगेको हो । सोही क्रमसँगै चुनावको बेलामा भोटमात्र हैन, जनताको चाहना अनुसारको विकास गर्नुपर्छ भनि जनमुखी काम गर्ने पार्टी एमाले मात्रै हो । विगतमा भक्तपुरलाई हेपिने ठाउँको रुपमाा लिइन्थ्यो । भक्तपुरका जग्गाहरु सस्तो थिए । अहिले भक्तपुरका विकट ठाउँका जग्गाहरु समेत विकास निर्माणले गर्दा नै महंगो हुँदै गएका छन् । अबको चार पाँच वर्षमा भक्तपुरका जग्गाहरु बानेश्वर जस्तै हुनेछन् ।’

सत्ताको नेतृत्व गरे पनि कांग्रेस विकासको विरोध भएको उल्लेख गर्दै नेता बस्नेतले कांग्रेसका जिल्ला सभापति, क्षेत्रीयरनगर सभापतिलगायतका नेताहरुले गर्वका साथ हनुमन्ते करिडोर निर्माणलाई रोकेको भन्दै अभिव्यक्ति दिइरहेको भन्दै आक्रोस जनाउनुभयो । मानव अंग, क्यान्सर सेन्टर निर्माणको लागि एमालेले प्रकृया अगाडी बढाएको तर कांग्रेसले रोक्न विभिन्न षड्यन्त्र गरिरहेको उल्लेख गर्दै उहाँले यातायात कार्यालयलाई आफ्नै भवन बनाउन रोक्ने खेलमा कांग्रेसका जिल्ला नेता हात धोएर लागिपरिरहेको भन्दै आक्रोश जनाउनु भयो । कांग्रेसका नेता तथा मन्त्रीले उक्त कार्यालय नवनाउन फोन गरिरहेको जानकारी आफुलाई आएको उल्लेख गर्दै उहाँले उक्त निर्माण प्रकृया रोके कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनु भयो ।

हात्ती गौंडामा सडक निर्माणको क्रममा कांग्रेसका नेताहरुले अत्याधिक दुःख दिएको उल्लेख गर्दै उहाँले हात्ती गौंडाको माटोले खेर गइरहेको स्थानमा पुरी १२ रोपनी जग्गाको व्यवस्थापन गरी यातायात कार्यालय बनाउने प्रकृया अगाडी बढेको जानकारी गराउनुभयो । ३४ करोडको बजेट व्यवस्था गरी ठेक्का प्रकृया अगाडी बढाएको जानकारी गराउनुभयो । कार्यक्रममा जिल्ला समन्वयव समितिका उपप्रमुख सरिता कुँवर, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष किरण थापालगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित | १८ माघ २०७८, मंगलवार २०:३२