गोरखाबाट विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ

 गोरखा : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । गोरखाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी गराउनुभयो ।

त्यस्तै पक्राउ परेका विद्यार्थी नेता पाण्डेलाई धादिङको एनसेल टावरमा क्षति पुर्‍याएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पठाइएको उहाँले बताउनुभयो । पाण्डेलाई आइतबार जिल्लाको भीमसेन थापा गाउँपालिका–६ अश्राङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार ११:०९