प्रदेश १ सरकारले अनावश्यक रुपमा मन्त्रालय थपेकोमा एमालेको आपत्ति, तत्काल निर्णय फीर्ता लिन माग

विराटनगर – नेकपा (एमाले) प्रदेश १ कमिटिले प्रदेश सरकारले संघीयता विरोधी गतिविधि गरिरहेको भन्दै आपत्ति जनाएको छ । एमाले प्रदेश अध्यक्ष तुलसी न्यौपानेले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रदेश सरकार जनताको चाहना र प्रदेशको आवश्यकता विपरीत संघीयता विरोधी गतिविधिमा लागेको भन्दै आपत्ति जनाउनु भएको हो ।

प्रदेशमा अनावश्यक रुपमा मन्त्रालयको संख्या वृद्धि गरेकोमा विरोध जनाउँदै अध्यक्ष न्यौपानेले तत्काल त्यस्ता निर्णय फीर्ता लिन माग गर्नु भएको छ । प्रदेश १ को पूँजिगत खर्चभन्दा साधारण खर्च धेरै भएकोमा थप मन्त्रालय बढाएर प्रदेशले धान्नै नसक्ने आर्थिक भार थपेको उहाँको भनाइ छ ।

‘प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरि अनौचित्यपूर्ण तवरले मन्त्रालयहरु थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन यो कमिटी जोडदार माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा प्रदेशसभाबाट पारित योजनाहरु खारेज गरिएको, योजनाहरुमा विनियोजित बजेट कटौती गरिएको, विकासका काम ठप्प गरेको र भ्रष्टाचार बढाएको,  अनियमितता/भ्रष्टाचार र कमिशनमा प्रदेश सरकार चुर्लुम्म डुवेको विज्ञप्तिमा उल्लेख छ । 

 


प्रकाशित | १८ माघ २०७८, मंगलवार २०:०५