प्रदेश २ मा सरकार परिवर्तन आवश्यक देखियो, अब नेकपाको सरकार बनाउँछौ: प्रचण्ड

काठमाडौ: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को सरकारप्रति तीब्र असन्तुष्टि जनाउँदै सरकार परिवर्तन जरुर आवश्यक रहेको विचार ब्यक्त गर्नुभएको छ । प्रदेश २ मा सरकार परिवर्तनको संकेत गर्दै प्रचण्डले तीब्र असन्तुष्टि ब्यक्त गर्नुभएको हो ।  मंगलबार मधेस तराई फोरमका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै उहाँले मधेसमा सरकार जसरी चलेको छ, त्यो मधेसी जनताको हितमा नभएको तर्क गर्नुभयो । ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन। त्यो मधेसी जनताको हित अनुकूल चलेको छैन’, उहाँले भन्नुभयो ।

‘तराई मधेसमा पनि कम्युनिस्ट पार्टीकै नेतृत्वमा सरकार बन्नु मात्रै त्यहाँको जनताको हितमा हुनसक्छ। नत्र मधेसी जनताको हित छैन। यो कुरा प्रष्ट देखिइसकेको छु’, उहाँले भन्नुभयो । ‘मैले धेरै पटक भनेको छु, हामीले चाहने हो भने ठूलो पार्टी हुनुको नाताले त्यहाँ चलखेल बन्ने हो भने अहिले पनि सकार बन्न सक्छ। तर हामीले उहाँहरुले बनाएको सरकार राम्रो काम गर्नुस्, हाम्रो साथ हुन्छ भनेको हो’, उहाँले थप्दै भन्नुभयो ।’ प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १३:०२