स्थानीय तहको निर्वाचन १२ अर्ब खर्च लाग्ने अनुमान

काठमाडौं – निर्वाचन आयोग र सरकारबीच आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सहमति जुटेको छ । प्रधानमन्त्री शेरब हादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति जुटेको हो ।

छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव राख्नु भएको थियो । प्रधानमन्त्री देउवाको प्रस्तावमा आयोगका पदाधिकारीबीच पनि समझदारी बनेको हो । आयोगले पनि सोही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो ।

छलफलपछि प्रधानमन्त्री देउवाले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गर्नु भएको छ ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने काुननी बाध्यता छ ।

एकै चरणमा निर्वाचन गर्न १२ अर्ब खर्च लाग्ने

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । मंगलबार सरकारलाई बुझाएको ६ बुँदे प्रस्तावमा एकै चरणमा स्थानीय तहको निर्वाचन नभए त्यो भन्दा पनि बढी खर्च लाग्ने उल्लेख छ ।

२०७४ मा ८ अर्ब भन्दाबढी खर्च भएको भन्दै आयोगले एकै चरणमा निर्वाचन नभएमा निर्वाचन व्यवस्थापनमा हुने अनुमानित खर्चमा थप वृद्धि भएको भन्दै त्यसै अनुसार बजेट व्यवस्थापन गरिरिदन प्रस्ताव गरेको हो ।

आयोगले खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता जस्ता कुरामा हुने बताएको छ ।


प्रकाशित | १८ माघ २०७८, मंगलवार १७:३८